अन्ततः विश्वासको मत लिन तयार भए मुख्यमन्त्री
जनकपुरधाम । बिरामी परेको भन्दै आज लिने भनेको विश्वासको मत मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ गते लिने प्रस्ताव संशोधन गरेपछि अन्यौलमा परेको प्रदेशसभा बैठक पुनः केही बेरमा सुरु हुँदैछ ।
२८ गते विश्वासको मत लिने मुख्यमन्त्री यादवको प्रस्ताव सभामुख रामचन्द्र मण्डलले अस्वीकार गरिदिएपछि बुधबार बसेको प्रदेशसभा बैठकमा सरकार पक्ष अनुपस्थित भएको थियो । प्रदेशसभा नियमावली अनुसार सरकारको अनुपस्थितिमा बैठक बस्नै नसकिने कानुनी आधारवारे कांग्रेस सांसद विरेन्द्र सिंहले सभामुखको ध्यानाकर्षण गराएका थिए । लगत्तै सभामुखले पनि सोही कानुनी आधारलाई अघि सारेर तत्काल १० मिनेटको लागि बैठक स्थगित गरेका थिए ।
बैठक स्थगित भएको करिब दुई घण्टापछि मुख्यमन्त्री यादवले जे परेपनि आजै विश्वासको मत लिने भन्दै आफ्ना दलका सांसदहरुलाई जानकारी गराएका छन् । उनी अहिले प्रदेशसभा पुगेर बैठक सञ्चालन गर्न लगाइ आजै (बुधबार) विश्वासको मत लिन लागेको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले न्यूज आजलाई जानकारी दिए ।