‘राष्ट्रियता, सामाजिक सद्भाव र युवा नेतृत्वलाई बलियो बनाउन राजनीतिमा सक्रिय भएँ’ — सुष्मा बस्नेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन र केन्द्रीय सदस्य पदको उम्मेदवारको रुपमा अग्रसर भएकी सुष्मा बस्नेत गामीसँग पार्टीको नयाँ नेतृत्व र उनको राजनीतिक धारणा लगायत विषयमा केन्द्रीत भएर न्यूज आजकी संवाददाता रोशनी यादवले गरेको कुराकानीको संक्षिप्त अंशः
प्रश्न (रोशनी यादव): राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्यका रूपमा तपाईंको राजनीतिक यात्राको सुरुवात कसरी भयो?
सुष्मा बस्नेत: देशमा सुशासन, पारदर्शिता र जिम्मेवार राजनीतिक संस्कृतिको आवश्यकता महसुस भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिने निर्णय गरेँ । पार्टी स्थापना कालदेखि नै सक्रिय रूपमा सहभागी हुँदै आएको छु । नयाँ पुस्ताको नेतृत्वमार्फत देशमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ आज पनि निरन्तर काम गरिरहेकी छु ।
प्रश्न: तपाईंलाई धेरैले “पहाडकी छोरी, मधेशकी बुहारी” भनेर चिन्ने गर्छन् । यसको सामाजिक र राजनीतिक महत्वलाई कसरी हेर्नुहुन्छ ?
उत्तर: मेरो जन्म कोशी प्रदेशको झापामा भयो भने विवाहपछि मधेश प्रदेशको धनुषामा स्थापित भएँ । यसले मलाई पहाडी र मधेशी दुवै समुदायको भावना, संस्कृति र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर दिएको छ । म दुवै समुदायबीचको विश्वास, सद्भाव र भाइचारालाई अझ सुदृढ बनाउँदै राष्ट्रिय एकतालाई मजबुत बनाउने अभियानमा लागिरहेकी छु ।
प्रश्न: तपाईंको कार्यक्षेत्र मुख्यतः बागमती प्रदेश रहेको छ । यसले तपाईंको राजनीतिक अनुभवलाई कसरी फराकिलो बनाएको छ ?
उत्तर: कोशी, मधेश र बागमती प्रदेशसँग मेरो प्रत्यक्ष सम्बन्ध रहेको छ । यी तीनै प्रदेशका नागरिकसँग काम गर्ने अवसरले नेपालको विविधता बुझ्ने र सबै क्षेत्रका साझा मुद्दा उठाउने अनुभव दिएको छ । यही अनुभवलाई राष्ट्रिय स्तरमा उपयोग गर्न चाहन्छु ।
प्रश्न: तपाईं युवा र महिलाका मुद्दामा निरन्तर सक्रिय रहनुभएको छ । यसको पछाडिको प्रेरणा के हो ?
उत्तर: समाजको समृद्धि र विकासका लागि युवा र महिलाको नेतृत्व अपरिहार्य छ । मैले वर्षौंदेखि महिला अधिकार, युवा नेतृत्व, जातीय तथा सामुदायिक विभेदविरुद्ध वकालत र लेखनमार्फत आवाज उठाउँदै आएकी छु । सबैलाई समान अवसर र सम्मान प्राप्त हुने समाज निर्माण मेरो प्राथमिकता हो ।
प्रश्न: पछिल्लो समय तपाईं जेन–जी आन्दोलनसँग पनि सक्रिय रूपमा जोडिनुभएको थियो । यसको उद्देश्य के थियो ?
उत्तर: नयाँ पुस्ताको सोच, ऊर्जा र क्षमतालाई सही दिशामा अघि बढाउनु नै हाम्रो उद्देश्य हो । युवाले अब केवल दर्शक होइन, नेतृत्व गर्ने समय आएको छ । सुशासन, समृद्धि र समानताको अभियानमा युवाको निर्णायक भूमिका हुनुपर्छ भन्ने मेरो विश्वास हो ।
प्रश्न: नेपालको वर्तमान राजनीतिक अवस्थालाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ?
उत्तर: नेपाली जनताले अब परिणाममुखी राजनीति चाहेका छन् । पुराना राजनीतिक अभ्यासलाई सुधार गर्दै पारदर्शी, उत्तरदायी र जनमुखी शासन व्यवस्था निर्माण गर्नु आवश्यक छ । त्यसका लागि नयाँ सोच र नयाँ नेतृत्व अपरिहार्य छ ।
प्रश्न: तपाईंको शैक्षिक र सामाजिक पृष्ठभूमिबारे पनि केही बताइदिनुहोस् ।
उत्तर: मैले स्नातकोत्तरसम्म अध्ययन गरेकी छु । अध्ययनसँगै साहसिक यात्रा, सामाजिक नेतृत्व, महिला अधिकार, लेखन तथा सामाजिक रूपान्तरणका अभियानमा सक्रिय रहँदै आएको छु । यी अनुभवले जनताका वास्तविक आवश्यकता बुझ्न र समाधान खोज्न मद्दत गरेका छन् ।
प्रश्न: राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनमा कस्तो भूमिका खेल्न सक्छ भन्ने लाग्छ ?
उत्तर: राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको राजनीतिक संस्कृतिमा सकारात्मक परिवर्तनको सुरुवात गरिसकेको छ । आगामी दिनमा पनि सुशासन, पारदर्शिता, विकास र जनउत्तरदायी शासनका लागि अझ दृढताका साथ काम गर्ने विश्वास छ ।
प्रश्न: अन्त्यमा, विशेषगरी युवा पुस्तालाई तपाईंको सन्देश के छ ?
उत्तर: नेपाल बनाउने जिम्मेवारी अब हाम्रो पुस्ताको काँधमा छ । परिवर्तनको प्रतीक्षा मात्र होइन, त्यसको नेतृत्व गर्न पनि युवाहरू अघि आउनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएर देश निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण युवालाई हार्दिक आग्रह गर्दछु । एकताबद्ध प्रयासबाट मात्रै समृद्ध, सुशासित र न्यायपूर्ण नेपाल निर्माण सम्भव छ ।


