रास्वपाको केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित भइन् सुष्मा बस्नेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशनबाट सुष्मा बस्नेत केन्द्रीय सदस्य पदमा सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । बिहीबार सार्वजनिक मत परिणामअनुसार बस्नेतले १ हजार ४ सय १८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएकी हुन् । उनी भुगोलतर्फ सर्वाधिक मतान्तरसहित विजयी केन्द्रीय सदस्य हुन् ।

कोशी प्रदेशको झापा जिल्ला माइत भएकी बस्नेत मधेश प्रदेशको सबैला नगरपालिकाकी बुहारी हुन् । सामाजिक अभियान र जनचासोका मुद्दामा लामो समयदेखि सक्रिय बस्नेत सामाजिक उत्पीडनविरुद्ध आवाज उठाउने तथा युवा नेतृत्व विकासका क्षेत्रमा क्रियाशील व्यक्तित्वका रूपमा परिचित छिन् ।

एक दशकभन्दा बढी समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकी बस्नेतले लैंगिक तथा जातीय विभेद, सामाजिक असमानता तथा विकास निर्माणका काममा हुने ढिलासुस्तीविरुद्ध निरन्तर वकालत गर्दै आएकी छन् । सामाजिक न्याय र सुशासनको पक्षमा उनको निरन्तर सक्रियताले उनलाई राष्ट्रिय राजनीतिको केन्द्रसम्म पुर्‍याएको विश्लेषण गरिएको छ ।

राजनीतिक रूपमा एमाले पृष्ठभूमि भएको परिवारमा जन्मिएकी तथा नेपाली कांग्रेसको स्थापनाकालदेखि योगदान गर्दै आएको परिवारकी बुहारी भए पनि बस्नेतले परम्परागत राजनीतिक सोचभन्दा माथि उठेर सामाजिक रूपान्तरणका लागि वैकल्पिक राजनीतिक अभ्यास आवश्यक रहेको निष्कर्ष निकालिन् । यही सोचका साथ उनी रास्वपा गठनको सुरुवाती चरणदेखि नै भावनात्मक रूपमा जोडिएकी थिइन् ।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनताका रास्वपाको भविष्यबारे धेरैले अनुमान गर्न नसकेको अवस्थामा पनि उनी पार्टीको सिद्धान्त, सुशासनको एजेन्डा र सामाजिक न्यायप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर औपचारिक रूपमा पार्टीमा आबद्ध भएकी थिइन् । त्यसयता उनले पार्टीका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएकी छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि बस्नेतले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छन् । उनले आफूलाई प्राप्त भएको विश्वासलाई जिम्मेवारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी जीवन सामाजिक सेवा, सुशासन र असल राजनीतिक संस्कारको प्रवर्द्धनमा समर्पित गर्ने बताइन् ।

“पार्टीका नेता–कार्यकर्ता र आम समर्थकले देखाउनुभएको विश्वासप्रति म हार्दिक आभारी छु,” उनले भनिन्, “अब मेरो बाँकी जीवन परिवारको जिम्मेवारीसँगै सामाजिक रूपान्तरण, सुशासन र असल राजनीतिक अभ्यासको अभियानमा समर्पित रहनेछ ।”

उनले आफ्ना श्रीमान् उमेश गामीलाई साक्षी राख्दै सामाजिक परिवर्तनको यात्रालाई अझ सशक्त ढंगले अघि बढाउने संकल्पसमेत व्यक्त गरिन् ।

रास्वपाको प्रथम महाधिवेशनबाट सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बस्नेतको राजनीतिक उचाइ मात्र बढेको छैन, सामाजिक न्याय, युवा नेतृत्व विकास र सुशासनको पक्षमा उनको लामो सक्रियताको पनि पार्टीभित्र उच्च मूल्यांकन भएको संकेत देखिएको छ । आगामी दिनमा पार्टी संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिक अभ्यासलाई संस्थागत गर्न उनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box
    ट्याग: