जनकपुरका पूर्वसांसद साहद्वारा प्रधानमन्त्रीसमक्ष निष्पक्ष छानबिन र सुनुवाइको माग

पूर्व राज्यमन्त्री संजय कुमार साह ले आफूविरुद्ध लगाइएका विभिन्न मुद्दा राजनीतिक प्रतिशोधका आधारमा चलाइएको दाबी गर्दै निष्पक्ष छानबिन तथा अदालतबाट तत्काल सुनुवाइको व्यवस्था गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुझाइएको निवेदनमार्फत साहले विगत १२ वर्षदेखि आफूलाई झुट्टा मुद्दामा फसाइएको दाबी गरेका हुन् । उनले जनकपुर क्षेत्रबाट दुई पटक निर्वाचित भएपछि राजनीतिक प्रतिशोधका कारण राज्य संयन्त्रको दुरुपयोग गरेर मुद्दामाथि मुद्दा लगाइएको उल्लेख गरेका छन् ।

निवेदनमा उनले सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा आफ्ना बुबाको नाममा रहेका पुर्ख्यौली जग्गालाई समेत आफ्नो गैरकानुनी सम्पत्ति भनेर मुद्दा दायर गरिएको आरोप लगाएका छन् । उनले मालपोत कार्यालय तथा नापी कार्यालयका कागजातले ती जग्गा आफू सानै हुँदा वा जन्मनुभन्दा पहिलेदेखि परिवारको स्वामित्वमा रहेको पुष्टि गर्ने दाबी गरेका छन् ।

त्यस्तै, आफ्ना व्यापारिक फर्मका बैंक कारोबारको कुल ‘टर्नओभर’ रकमलाई सम्पत्ति मानेर करोडौं रुपैयाँ बराबरको बिगो कायम गरिएको भन्दै उनले आपत्ति जनाएका छन् । यस्ता बैंकिङ कारोबारलाई सम्पत्ति मानेर मुद्दा चलाउने अभ्यास विश्वमै नभएको उनको भनाइ छ । ज्यानसम्बन्धी मुद्दामा समेत प्रत्यक्ष प्रमाण वा साक्षी नभएको दाबी गर्दै साहले आफूले पटक–पटक पोलिग्राफ परीक्षणको माग गरे पनि निष्पक्ष रूपमा अनुसन्धान नगरिएको बताएका छन् ।

उनले आफू निर्दोष देखिएको पोलिग्राफ रिपोर्ट अदालतमा पूर्ण रूपमा पेश नगरिएको आरोप समेत लगाएका छन् । साहले विशेष अदालत तथा उच्च अदालतका केही तत्कालीन न्यायाधीशमाथि समेत बदनियतपूर्वक फैसला गरेको आरोप लगाउँदै उनीहरूमाथि आवश्यक कारबाहीको पहल गरिदिन सरकारसँग माग गरेका छन् ।

साथै, चर्चित व्यक्तिहरूका मुद्दामा “स्टन्टबाजी” हुने गरेको उल्लेख गर्दै न्यायालयमा देखिएको विकृति सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

निवेदनसँगै उनले मालपोत कार्यालय, अख्तियारको आरोपपत्र तथा नापी कार्यालयका कागजातहरूको प्रतिलिपिसमेत संलग्न गरेका छन् ।

Facebook Comments Box
    ट्याग: