आवाजविहीनको आवाज, सुशासनको पहरेदार
समयावधिको दृष्टिकोणले नियाल्ने हो भने नेपालको पत्रकारिता सम्बन्धी इतिहास धेरै लामो छैन । छोटो अवधिमै धेरै राजनीतिक तथा शासकीय परिवर्तनहरु भए, ती आम परिवर्तनहरुको साक्षी भएर सिंहावलोकन गर्दा निकै लामो इतिहास बन्न जान्छ । सतही रुपमा हेर्दा सरकारी स्वामित्वको सञ्चारमाध्यम गोरखापत्र र निजी लगानीका दैनिकहरुले धेरै नै तितामिठा अनुभव संगालेर यात्रामा निरन्तर लम्किरहेको देख्न सकिन्छ ।
पछिल्लो केही वर्ष यता सामाजिक सञ्जालसँगै सञ्चार क्षेत्रको प्रविधिमा अकल्पनीय विकास हुन पुगेको छ । यसले सञ्चारकर्मको परिभाषा नै बदलिदिएको छ । यसअर्थमा मिडिया क्षेत्रमा प्राविधिक रुपले विकास भएपनि सञ्चारकर्मीको विषयगत योग्यता, अध्ययन र पेशागत धर्म तथा कर्मको सवालमा निराशजनक अवस्था छ । सञ्चारकर्मीको कर्म बारे उल्लेख गरिरहँदा हाम्रा उपभोक्ता अर्थात् रेडियोका श्रोता, टेलिभिजनका दर्शक र अखबारका पाठकहरुको स्वाभावमा पनि निकै भिन्नता आइसक्यो ।
टेलिभिजन र पत्रपत्रिकाप्रति दर्शक तथा पाठकहरु उदासिन भइरहेको यो अवस्थामा पेशागत अनलाइन सञ्चार माध्यमको प्रबद्र्धन हुन आवश्यक छ । पत्रिका पसलमा जान नचाहने र टेलिभिजनको रिमोट चलाउन अल्छी मान्ने हातका औंलाहरु मोबाइल फोनको स्क्रिनमा एकोहोरो भइरहेको यस परिवेशमा सञ्चारकर्मीले पनि सोही स्क्रिनमा आफ्नो भविष्य सुरक्षित गर्न अग्रसर हुनुको विकल्प रहेन । यस्तै अवस्थाहरुको अध्ययन र विश्लेषण गरी न्यूजआज डटकमको परिकल्पना गरी आज यहाँ समक्ष उपस्थित भएका हौं ।
न्यूजआज डटकमले जनताको माग र हित अनुरुप आवाजविहिनको सशक्त आवाज बनेर प्रस्तुत हुने तथा जनअधिकारका निम्ति प्रतिबद्ध भएर निरन्तर पेशागत धर्म निर्वाह गर्ने अठोटका साथ आएको हो । यहाँहरुको निरन्तर सल्लाह, सुझाव र मार्गदर्शनको अपेक्षा जाहेर गर्दै यहाँहरुको पवित्र भावनालाई सदैव सम्मानका साथ प्राथमिकतामा राखेर अघि बढ्ने प्रण गर्दछौँ । धन्यवाद ।
सुरेश कुमार यादव
सञ्चालक