एडीबी नेतृत्वसँग मुख्यमन्त्री यादवको छलफल, मधेशमा ७ सय मिलियन डलरसम्म लगानीको खाका

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डलले एसियाली विकास बैंक (एडीबी) को मुख्यालय मनिला पुगेर मधेशको जलवायु अनुकूलन तथा लगानी योजना र प्रदेशका विकास प्राथमिकताबारे एडीबीको उच्च नेतृत्वसँग छलफल गरेको छ । सेप्टेम्बर १५ र १६ मा भएको भ्रमणको मुख्य उद्देश्य जलवायु उत्थानशीलता, विपद् जोखिम व्यवस्थापन, पूर्वाधार विकास तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नु रहेको थियो ।

भ्रमणका क्रममा मुख्यमन्त्री यादवले एडीबीको दक्षिण एसिया विभागका महानिर्देशकसहित जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन तथा निजी क्षेत्रसम्बन्धी उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा मधेशमा देखिँदै आएका बाढी, डुबान, खडेरी र अत्यधिक गर्मीका कारण कृषि तथा जीविकोपार्जनमा परेको प्रभावबारे जानकारी गराउँदै जलवायु उत्थानशील विकासलाई आर्थिक विकाससँग जोड्नुपर्ने विषयमा जोड दिइएको थियो ।

एडीबी मुख्यालयमा मधेश प्रदेशको Climate Adaptation and Investment Plan (CAIP) समेत प्रस्तुत गरिएको थियो । गत १४ अगस्टमा शुभारम्भ गरिएको CAIP ले प्रदेशका जलवायु जोखिम, विकास प्राथमिकता, लगानी आवश्यकता र सम्भावित वित्तीय स्रोतलाई एकीकृत गर्दै जलवायु उत्थानशील विकासका लागि मार्गचित्र प्रस्तुत गरेको छ । योजनाअन्तर्गत सातवटा प्रमुख लगानी प्याकेज पहिचान गरिएका छन् भने आगामी पाँच वर्षमा करिब ३६० देखि ७०० मिलियन अमेरिकी डलर लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।

हाल नेपालमा एडीबीका ३१ वटा सक्रिय परियोजनामध्ये १४ वटा परियोजनाले मधेश प्रदेशलाई समेटेका छन् । भ्रमणका क्रममा विद्यमान सहकार्यलाई थप प्रभावकारी बनाउँदै CAIP मार्फत भविष्यका लगानीलाई रणनीतिक, समन्वित र जलवायु उत्थानशील बनाउने विषयमा छलफल भएको थियो ।

त्यसैगरी, Green and Resilient Economy and Financing Facility (GREFF) मार्फत मधेशमा सार्वजनिक, सहुलियतपूर्ण, जलवायु तथा निजी क्षेत्रका वित्तीय स्रोत परिचालन गर्ने सम्भावनाबारे समेत छलफल भएको छ । आँपको मूल्य शृंखला, धान तथा जलवायु उत्थानशील कृषि, औषधीय जडीबुटी तथा दुग्ध तथा पशुपालन क्षेत्रलाई सम्भावित प्राथमिक लगानी क्षेत्रका रूपमा अघि बढाउन सकिने विषयमा छलफल भएको हो ।

विपद् जोखिम व्यवस्थापनतर्फ पनि मधेशका प्राथमिकतालाई एडीबीका कार्यक्रमसँग थप जोड्ने विषयमा छलफल भएको छ । बाढी, डुबान, खडेरी र अत्यधिक गर्मीको जोखिम न्यूनीकरणका लागि जोखिमसम्बन्धी सूचना, उत्थानशील पूर्वाधार, पूर्वतयारी, जलवायु वित्त र उत्थानशील जीविकोपार्जनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।

मुख्यमन्त्री यादवको एडीबी मुख्यालय भ्रमणले मधेश प्रदेशका जलवायु तथा विकास प्राथमिकतालाई अन्तर्राष्ट्रिय विकास साझेदारको उच्च नेतृत्वसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको प्रदेश सरकारको भनाइ छ । भ्रमणबाट CAIP लाई आगामी जलवायु उत्थानशील लगानी परिचालनको रणनीतिक आधार बनाउने तथा निजी क्षेत्रसहित विभिन्न वित्तीय स्रोत परिचालनका लागि सहकार्य विस्तार गर्ने आधार तयार भएको जनाइएको छ ।

प्रदेश सरकारका अनुसार मनिला भ्रमणले मधेशको जलवायु कार्यसूचीलाई योजना निर्माणबाट लगानी परिचालनको चरणमा लैजाने वातावरण बनाउन सहयोग पुगेको छ । जलवायु जोखिमको तथ्यमा आधारित योजना, लक्षित लगानी र बलियो वित्तीय साझेदारीमार्फत मधेशलाई उत्थानशील तथा समृद्ध अर्थतन्त्रका रूपमा अघि बढाउने लक्ष्यमा भ्रमण महत्वपूर्ण पहल बनेको छ ।

Facebook Comments Box
    ट्याग: