सामाजिक कार्यमा राजनीतिक दलको अग्रसरता

जनकपुरधाम । राजनीतिक दल भनेको सत्ता केन्द्रीत मात्र हुनुहुँदैन, राजनीतिक दलले समाजलाई सही मार्गमा डोर्याउन आवश्यक जनचेतनाका कार्यक्रमदेखि सार्वजनिक स्थल सफाइमा नागरिक सहभागिता बढाउन उत्प्रेरित पनि गर्न सक्नुपर्दछ भन्ने उदाहरण बनेकी छिन् राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य सुष्मा बस्नेत ।
गत साता देशभर युवा दिवसको अवसरमा मंचिंग कार्यक्रममा अन्य दलहरु सिमित भइरहेको बेला बस्नेतले धनुषाको ग्रामिण भेगमा वृक्षारोपण, सार्वजनिक स्थल सरसफाई तथा ट्राफिक नियम पालनाका लागि युवाहरुलाई सचेत गराउने अभियान चलाइन् । उनले धनुषाको विभिन्न धार्मिक महत्व भएका पोखरीहरुको सरसफाइ कार्यक्रमलाई नेतृत्व गर्दै स्थानीय जनसहभागितालाई प्रोत्साहित गरिन् । सडक किनार तथा सार्वजनिक स्थलमा वृक्षारोपण गरी पर्यावरण संरक्षण कार्यमा योगदान गरिन् । त्यस्तै, आफ्ना कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमार्फत सडक दुर्घटना रोक्ने शिक्षामुलक सन्देश सम्प्रेषण गर्दै ट्राफिक नियम पालनाका लागि जोड दिइन् ।

उनी भन्छिन्, हामी राजनीतिक दलका नेताहरु सत्ता केन्द्रीत गतिविधिमा मात्र रहेर हाम्रो बहुमूल्य उर्जालाई खेर फाल्नु हुँदैन । हामीले सामाजिक दायित्व निर्वाहका लागि समाजमै गएर अगुवाइ मात्रै गर्ने हो भने समाजका सबै नागरिकलाई सरसफाइ, पर्यावरणको संरक्षण तथा सडक दुर्घटना जस्ता कार्यमा रोकथामका लागि उनीहरुको दायित्व बोध गराउन सकिन्छ । यसका साथै सभ्य समाज निर्माणको कार्यमा हामी उत्तरदायी हुन सक्नुपर्दछ ।

उनले विभिन्न दिवसलाई अवसर पारी सामुदायिक शिक्षा तथा स्वास्थ्यमा सुधार र सामाजिक विकासका काममा आम नागरिकको सहभागिता अभिवृद्धि गर्न सक्नुपर्ने बस्नेतको धारणा हो । यस कार्यमा स्थानीय समुदायमा आधारित युवा तथा महिलाहरुको संघ संस्था एवम् सरकारी निकायहरुसमेतको सहभागिता प्रबद्र्धन गरी सभ्य समाज निर्माण कार्यलाई गति दिनुपर्ने उनले बताइन् ।


