५८ वर्षदेखि पत्रिका बेच्दै आएको हात आफ्नै उपचारका लागि खाली

बिहारको जयनगरस्थित एक हाइस्कुलबाट मैट्रिक पास गरेपछि परिवारको आर्थिक अभाव पुर्ती गर्ने आधारको रुपमा शिक्षण पेशा रोजेका थिए । ‘मैट्रिक पास करलिए, अब मुझे स्कुलमे पढानेवाले नौकरी दिजिए’ प्रस्ताव गर्दा एउटा स्कुलले शिक्षक बन्नका लागि पाँच वर्षसम्म तालिम लिनुपर्ने र अर्को पाँच वर्ष सित्तैमा पढाएर अनुभव लिएपछि मात्रै जागिर दिन सक्ने शर्त तेस्र्याइदियो । आर्थिक अभावले धकेलेपनि मैट्रिक पास गरिसकेकाले लेबर/कुल्लीको रुपमा काम गर्न मनले मानेन । अन्त्यमा पत्रिका बेच्ने काम रोजेका ती युवक हुन्, दिपनारायण साह ।

जनकपुर शहरको केन्द्रमा अवस्थित जनक मन्दिर परिसरमा स्थानीय, प्रादेशिक र राष्ट्रियसँगै भारतबाट प्रकाशित अखबारहरु बेच्न बसिरहेका दिपनारायणको अनुहार जति सहज देखिन्छ त्यसको ठ्याक्कै उल्टो हालतबाट गुज्रिरहेको छ उनको जीवन । सन् १९६८ डिसेम्बर १ को दिनदेखि उनले अखबार बेच्न थालेका हुन् । विद्यालयमा शिक्षकको रुपमा काम गर्न नपाएपछि उनले हनुमान मन्दिरमा पुगेर भाकल गरेछन्, ‘हे भगवान्, मैले बालबालिकालाई पढाउने जागिर त पाइनँ । अब म यस्तो काम गर्न पाउँ, जसले धेरैभन्दा धेरै व्यक्तिहरुसँग भेट्न र सम्बन्ध जोड्न सकियोस् ।’ उनले चिताएकै जस्तो काम भगवानले जुराइदिएर हुनसक्छ, पत्रिका बेच्ने निहुँमा दैनिक सयकडौं व्यक्तिसँग भेट्न थाले उनी ।

५८ वर्षसम्म निरन्तर पत्रिका बेच्ने काममा सक्रिय रहेका दिपनारायणलाई जनकपुर र आसपासका अखबार–पाठकहरुले नचिन्ने कुरै भएन । उनले दैनिक बौद्धिक खुराक उपलब्ध गराइदिएकाहरुमध्ये कयौँ व्यक्तिहरु मन्त्री, सांसद, मेयर, उपमेयर बनिसके । कयौँ हाकिमहरु भए । तिनीहरुमध्ये पत्रिका लिएर बाँकी राखेको उधारो मात्रै तिर्दिने हो भने दस लाखभन्दा बढी रकम जम्मा हुने दिपनारायणको भनाई छ । तर, आज एक लाख रुपैयाँ आफुसँग नभएकै कारण शरीरमा रोग बोकेर काम गर्न बाध्य छन् उनी ।

एक वर्ष अघि ज्वरो लागेर थला परेका दिपनारायण साहको उपचार क्रममा टिवि लागेको ठहरियो । लामो समयसम्म पत्रिका पसलमा नभेट्दा दिपनारायणलाई खोज्दै घरसम्म पुगेकाहरुले चन्दा संकलन गरेर एक लाख रुपैयाँ जम्मा गरी उपलब्ध गराइदिए । जेठी छोरी बिहारकै एक स्कुलमा शिक्षक छिन् । उनले थप एक लाख रुपैयाँको बन्दोबस्ती गरिदिएपछि तत्काल ज्यान जोगिएको उनको अनुभव छ । फलोअप जाँचका लागि केही पैसाको आवश्यकता रहेको तर जोहो गर्न नसक्दा थप उपचार बिनै रोग पालेर मन्दिर परिसरमा पत्रिकार बेचिरहेका छन् उनले ।

सात सन्तानका पिता दिपनारायण जनकपुरमा आएको छ दशक बितिरहँदा पनि सुकुम्बासी जीवन जिउन बाध्य छन् । मासिक दस हजार भाडा तिरेर डेरामा बसिरहेका उनको परिवार पत्रिका बेचेकै आम्दानीबाट दिन काटिरहेको छ । चारजना छोरीहरुलाई जेनतेन अन्माइसके । सबैले एसएलसीसम्म पढाइ गरिन् । घरमा तीन जना छोराहरु छन् । एकजना जिम र डान्स क्लव चलाइरहेका छन् भने अन्य दुईजना छोराहरु बुवाकै बिँडो थामिरहेका छन् । तर, यो पेशाले जीवनको पार लाग्ने आश उनले देखिरहेका छैनन् ।

५८ वर्ष अघि दिपनारायणले पत्रिका पसल सुरु गर्दा गोरखापत्र दैनिक, राइजिङ नेपाल (अंग्रेजी दैनिक), पुरुषोत्तम दाहालको राजधानी साप्ताहिक, किशोर नेपालको देशान्तर साप्ताहिक, हरिहर विरहीको विमर्श साप्ताहिक, होमनाथ दाहालको राष्ट्रिय पुकार, साप्ताहिक मञ्च, समिक्षा साप्ताहिक, मातृभूमि साप्ताहिक जस्ता अखबारहरु थिए । कान्तिपुर दैनिकको पत्तै थिएन । बिहारबाट प्रकाशित हुने हिन्दुस्तान, आर्यावर्त, साइन्स अफ इन्डिया, इन्डियन नेशन, सर्च लाइट र इकोनोमिक्स टाइम्सहरु आउँथ्यो ।

यतिबेला कान्तिपुर दैनिक, नागरिक दैनिक, गोरखापत्र दैनिक, सौर्य दैनिक, हिमालयन टाइम्स, राजधानी दैनिक, आर्थिक, काठमाण्डु पोष्ट, राइजिङ नेपाल, स्थानीय प्रकाशनहरु जनकपुर टुडे, मधेशदृष्टि, डेली एक्सप्रेस, जागरण, तराई टाइम्स, जनधारा, धमाका, समाचार दैनिक, जलेश्वर टुडे, शिक्षक मासिक, नव नेपाल, हिमालीनी जस्ता अखबारहरु आइरहेका छन् ।

पहिले जस्तो अब पत्रिका किनेर पढ्ने सँस्कृति कायम नरहेको अनुभव दिपनारायणको छ । उनी भन्छन्, ‘त्यो बेलाको तुलनामा अब त चारआना पनि पत्रिका पढ्नेहरु छैनन् । पत्रिका पनि किनेर पढ्ने हो र ? भन्नेहरु धेरै भए ।’

पत्रिका नबिक्नुको कारण पाठक मात्रै नभएर पत्रकार पनि भएको उनको बुझाइ छ । ‘अरु पनि कारण होला । तर, मलाई लाग्छ पहिलाका जस्तो अध्ययन र मिहिनेत गरी लेख्ने पत्रकारहरु पनि रहेन । लेखन नै स्तरीय नभएपछि पढ्नेहरुको पनि रुची घटेर गएको मलाई लाग्छ’ दिपनारायण भन्छन् । (यो समाचार जनकपुर टुडेमा प्रकाशित भइसकेको छ ।)

Facebook Comments Box
    ट्याग: