विशेष महाधिवेशनः मधेशबाट ७० प्रतिशतको बहिष्कार

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आहवानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनलाई मधेशका ७० प्रतिशत प्रतिनिधिले बहिष्कार गरेका छन् ।
नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिका सभापति कृष्ण प्रसाद यादवले विज्ञप्ती जारी गर्दै पार्टीको आधिकारिक निर्णय बेगर गर्न लागिएको विशेष महाधिवेशनमा सहभागी नहुन प्रतिनिधिहरुलाई आहवान गरेका थिए । त्यसको दुई दिनपछि सर्लाही जिल्लामा सभापति नरहेको हुँदा त्यहाँस्थित कार्यवाहकसमेत मधेश प्रदेशका आठवटै जिल्लाका सभापतिहरुले समेत विज्ञप्ती जारी गरी आधिकारिक रुपले आहवान नभएको विशेष महाधिवेशनमा सहभागी नहुन भनेका थिए ।
आइतबार काठमाडौंस्थित भृकुटी मण्डपमा आयोजिश महामन्त्रीद्वयको अगुवाइमा आयोजित महाधिवेशनमा मधेश प्रदेशका जम्मा २८३ जना प्रतिनिधि सहभागी भएको पार्टी प्रदेश कमिटीले जनाएको छ । प्रदेशका दुई जना उपसभापति र एक महामन्त्रीले विज्ञप्ती जारी गरेर मधेश प्रदेशका बढी भन्दा बढी प्रतिनिधिलाई सहभागी गराउन गरेको मिहिनेत असफल भएको सभापतिले जनाए ।
मधेश प्रदेशमा नेपाली कांग्रेसका ८ सय ६३ जना प्रतिनिधि छन् । ती मध्ये २८३ जना सहभागी हुनु भनेको यो प्रदेशले विशेष महाधिवेशन बहिष्कार गरेको बुझ्नुपर्ने उनको भनाइ छ ।



