लोहारपट्टी स्कूलमा साढे तीन करोडको भवन

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका –५ स्थित श्री भेरुखी माविमा साढे तीन करोड लागत पर्ने विद्यालय भवन निर्माण हुने भएको छ ।
डा. साहलाई शीलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य अजय साह, समिति सदस्यसमेत रहेका लोहारपट्टी –५ का वडा अध्यक्ष दिनेश मण्डल र वडा ६ का अध्यक्ष पंकज साह एवम् प्रधानाध्यापक रामकृष्ण मण्डलले साथ दिएका थिए ।
दाता परिवारका सदस्यसमेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा. धिरेन्द्र साहले सोमबार एक समारोहबीच शीलान्यास गरेपछि विद्यालयको भवन निर्माण कार्य अघि बढेको हो ।
नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तरगत आयोजना कार्यान्वयन इकाइ कार्यालय र सप्तेश्वर – एएसीसी–एसआर जेभीबीच भएको सम्झौता अनुरुप विद्यालयको भवन निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ ।

नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तरगत रहेको यो योजना विभिन्न पाँच जिल्लाका आठवटा विद्यालयमा रहेका छन् । आठवटै विद्यालयमा निर्माण हुने भवनका लागि २८ करोड रुपैयाँको बजेट रहेको निर्माण व्यवसायी अमर यादवले जानकारी दिए ।
नयाँ निर्माण हुने तीनतले भवनमा प्रतितल्लामा चारवटा कक्षाकोठा र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सौचालय निर्माण गरिनेछ । भवनको रंगरोगनदेखि कक्षाकोठाहरुमा फर्निचरको व्यवस्थासमेत गरिने यादवले जानकारी दिए ।


