श्रद्धेय रामचन्द्र बाबुप्रति कोटिशः नमन

नित्यानन्द मण्डल
सन् ६० को मध्यताका जनकपुरधाममा भनिन्थ्यो–माल अड्डा, भन्सार र प्रहरी चौकी नेपालको, बाँकी जम्मै जिम्मा कि राम स्वरुप साहु वा भारत सरकारको । अर्थात् जनकपुरधामको शैक्षिक, स्वास्थ्य र सामाजिक उन्नयन, विकास निर्माणमा कि त भारत सरकारको कि त रामस्वरूप–रामसागर दाजुभाइको ठूलो योगदान हुने गर्दथ्यो ।
यसै परिवारका पछिल्ला प्रतिनिधि थिए – रामचन्द्र साह, जसले पारिवारिक विरासत र समाजसेवालाई निरन्तरता दिए,
जनकपुरमा पहिलो परिवर्तनको लहर श्री ३ पद्मशमशेरको शासनकालमा सुरु भएको मानिन्छ । सेठ साहुकार एवं गुरु–पुरोहितका सन्तानलाई पढाउने आधुनिक विद्यालय सञ्चालन गर्न तत्कालीन बडाहाकिमले सहमति दिएपछि केही गन्यमान्य जमिन्दार तम्सिए । हजारौं बिघाका मालिक जुनसुकै राणा, शाह, सिंह वा उपाध्यायले सहजै आफ्नै खर्चमा विद्यालय निर्माण गराउन सक्दथे । तर, तिनका सन्तान कि त कलकत्ता–बनारस वा काठमाडौंमा बस्ने गर्दथे । त्यसैले रकमको जोहो गर्न राजा, गुरु र पुरोहितको झुण्ड स्थानीय व्यापारी साहु राम स्वरुपकहाँ पुगे ।
सहरका धनीमानी एवं लब्धप्रतिष्ठित व्यक्ति साहुको ढोकामा पुग्दा उनी सादा धोती र गन्जी लगाएर दैनिक हिसाब मिलाउँदै थिए। स्कुल बनाउने प्रस्ताव सुनेपछि उनले तत्कालै एक गजिया (चलनचल्तीको भाषामा बटुआ अर्थात् पोकाभन्दा ठूलो रकम राख्ने थैली) धन बेग्लै राखिदिए र सोधे, यति भए त पुग्ला ।’ याचकहरूले भने यसबाट काम सुरु गर्दै गरौं, पछि फेरि परिआए आऊँला।’ त्यसपछिको कथा किंवदन्ती भइसकेको छ ।
भनिन्छ, सरस्वती हाइस्कुल, सर्कल भवन कन्या विद्यालय, सार्वजनिक चिकित्सालय, पोखरीको पक्की डिल एवं कलेज निर्माण गर्दासम्म धर्मार्थका लागि छुट्ट्याइएको त्यस गजियाको धन कहिल्यै समाप्त भएन। त्यस अर्थमा गजियालाई परोपकारी मनको रूपमा पनि लिन सकिन्छ । भनिन्छ– यो त हाम्रो लागि साह्रै लाजमर्दाे भन्ने लागेपछि जमिन्दारहरूले नै सरस्वती हाइस्कुलको छात्राबास भवन बनाउन लगाएका थिए ।
प्रतिरोध गतिविधिका लागि कहलिएको स्थानीय रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको जीवन्तता समाप्तप्रायः छ । अन्य सार्वजनिक शैक्षिक संस्थाजस्तै राराब उठ्नै नसक्ने गरी थला परेकोमा सुस्तरी फड्को मार्न थालेका छन् । राजनीतिक रूपमा राराबको विद्यार्थी संगठन सबभन्दा क्रियाशील भएका बेला विज्ञान एवं साहित्य अध्ययनका लागि यो शैक्षिक संस्था देशभरकै अब्बलमध्ये गनिन्थ्यो । जसमा साह परिवारको महत्वपूर्ण योगदान छ ।
सन् ४० को मध्यदेखि सन् ५० को अन्तसम्म जनकपुरधामको आधुनिकीकरण नागरिक अग्रसरतामा भयो भने सोभियत सहयोगको चुरोट कारखाना जनकपुरमा बनाउने निर्णयले सहरको अर्थराजनीति पूरै बदलियो । कारखाना निर्माणका ठेकेदारहरूले गर्दा इँटाभट्टा बिस्तार गरे । ट्रक चल्न थाले । कारखानाकै जेनेरेटरबाट बिजुली बत्ती पनि बल्न थाल्यो । दुर्भाग्य, यो चरण लामो चलेन। शासक महेन्द्रको गाडीमा बम हान्ने घटनापछि जनकपुरका दुर्दिन सुरु भयो । दुर्गानन्द झा गणतान्त्रिक चेतनाका प्रथम सहिद हुन्।
सन् ६० को दशकतिर भारत–चीन युद्धबाट उत्पन्न बाध्यताले गर्दा सीमा क्षेत्रको सामरिक पूर्वाधारमा भारतीय लागानी बढ्न थाल्यो । जनकपुर विमानस्थल, पूर्व–पश्चिम राजमार्ग एवं अन्तर्राष्ट्रिय सिमानासँग जोड्ने सडक तथा पुलहरूको स्तरोन्नति भारतीय लगानीमै भएको हो । त्यतिमात्र नभएर रेल्वे स्टेसनलाई विमानस्थलसँग जोड्ने स्थानीय सडकदेखि खानेपानीसम्म भारतीय सहयोगले गर्दा मात्र सम्भव भएको हो। चुरोट कारखाना सबभन्दा ठूलो रोजगारदाता त थियो, तर त्यसको व्यवस्थापनमा स्थानीयको पहुँच नगन्य थिया े।
भारतीय राजदूतहरु निजी भ्रमणमा कैयौं पटक जनकपुर भएर पटना जाने गर्दथे। विमानस्थलमा स्कुल, अस्पताल, सडक, पुल वा मन्दिर–मस्जिदसमेत बनाइपाऊँ भन्ने बिन्तीपत्र लिएर पुगेकाहरूको लाम लाग्दथ्यो। तिनीहरु कूटनीतिकरुपमा प्रस्तुत हुन्थे । कैयनलाई सोझै हकार्थे, यस्तो अनुरोध आफ्नो सरकारलाई गर्नुस् । म राजदूत हो, राजा होइन ।’ सायद अरु कसैसँग कुनै अपेक्षा नभएर त्यसो भएको होला। गएको झन्डै दुई दशकदेखि भने भारतीय तिरस्कारको दंशसमेत जनकपुरले भोग्नुपरेको छ।
बृहत जनकपुर क्षेत्र विकासमा भारतीय सहयोगको अपेक्षा थियो। त्यो पूरा भएन। हुलाकी राजमार्ग निर्माणाधीन छ। जनकपुर रेल्वेको विस्तार एवं आधुनिकीकरण भएको छ । सार्वजनिक पूर्वाधार भने सन् ७० को दशकमा जे थियो, अहिले पनि झन्डैझन्डै त्यति छ, तिनका स्तरमा क्षति भएको छ ।
यसवीच जनकपुरधाममा धेरै नै समाजसेवी जन्मिए ।
सर्वाधिकलाई स्थानीय मिडिया, सोसल मिडियाले सामाजिक कार्यकर्ताको त परै
जाओस् समाजसेवीकै तक्मा भिराए । महान समाजसेवी पनि भन्न बेर लाएनन् । तर वास्तविक समाजसेवीहरु भने पीँधमा छन् । उनीहरु समाजबाट तिरस्कार, अपमान र गाली सहन बाध्य भएका छन् । अनि प्रश्न उठ्छ, कोहि किन गर्छन्, समाज सेवा ? मिडियाले भन्दा आमजनले स्वस्फुर्त रुपमा सम्झिएकाहरु नै वास्तविक समाजसेवी हुन्, जसलाई हामीले सधैं सम्मान, सत्कार गर्नुपर्ने हुन्छ । र, अन्त्यमा फेरि पनि नमन सहित दिवंगत समाजसेवीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।


