माधव नेपाल विपक्षी दलको बैठकमा गएकोमा प्रचण्ड चिन्तित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन्। 

बुधबार पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाले आह्वान गरेको विपक्षी दलको बैठकमा सहभागि भएका थिए। मधेस प्रदेश सरकार गठनको विषयमा देउवा निवास बूढानिलकण्ठमा नेपाल समेत पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएका बेला प्रचण्डले सो कुरा बताएका हुन्।  

बिहीबार बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले नेपालसँग फोनमा कुरा गरेको र नेपालले आफू समीकरण भन्दा बाहिर नजाने कुरा स्पष्ट पारेको बताए। 

‘उहाँ अलि पहिलेदेखि नै उतापनि यतापनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो’ सञ्चारकर्मीहरुसँग प्रचण्डले भने, ‘तर, आज बिहान मात्र मेरो कुरा हुँदा माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुन्न भनेर क्लियर गर्नुभएको छ।’

त्यस्तै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको खेल सुरु भएको छ। बुधबार देउवाले मधेसवादी नेताहरुलाई बूढानिलकण्ठ बोलाएर मधेसमा केन्द्रीय गठबन्धनको विकल्पको सरकार गठनका विषयमा समेत सम्वाद गरेका थिए। 

मधेस प्रदेशको सत्ता समीकरण के हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने, ‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को बन्दैन। अहिले हाम्रो जे छ त्यही हुन्छ।’ 

Facebook Comments Box