मधेशमा कसकाे सरकार ? अंक गणितले के भन्छ ?

छ वर्षसम्म निरन्तरता पाइरहेको जसपा सरकार यतिबेला भने अल्पमतमा परेको छ ।

जनकपुर । संघीयता कार्यान्वयनको पहिलो खुट्किलोको रुपमा प्रादेशिक सरकार गठन भएदेखि आजसम्म मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार कायम छ । पहिलो कार्यकालको पाँच वर्ष र दोस्रो कार्यकालको पनि करिब डेढ वर्ष गरी साढे छ वर्षसम्म निरन्तरता पाइरहेको जसपा सरकार यतिबेला भने अल्पमतमा परेको छ ।

पछिल्लो संसदीय निर्वाचनमा एमालेसँग चुनावी गठबन्धन गरेको जसपा नेपालले माओवादी, एमाले लगायत पार्टीहरुसँग मिलेर मधेश प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । संघीय सरकारबाट एमाले बाहिरिएपछि कांग्रेसको साथ पायो र मधेश सरकारको नेतृत्व फेरि पनि कायमै राख्न सफल रहयो । फेरि कांग्रेस सत्ताबाट बाहिरियो तर, मधेश सरकार बचाउनकै लागि जसपा फेरि एमालेसहितको गठबन्धनसँग टाँसिइरहयो । अहिले गठबन्धन धरापमा छ । यो सँगै मधेश सरकारको भविष्य पनि अन्यौलग्रस्त हुन पुग्यो ।

यतिबेला संघमा एमाले, माओवादी लगायत दलहरुले गठबन्धन टिकाउन कसरत गरिरहँदा लोकतान्त्रिक मोर्चाको नाउँमा अर्को वैकल्पिक गठबन्धनको अभ्यास भइरहेको छ । यसै परिवेशमा एक पटक फेरि कित्ता बदलेर भएपनि जसपा नेपालले मधेश प्रदेश सरकारको आफ्नो नेतृत्व कायम राख्ने दाउमा लागिपरेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र उतारचढावले माओवादी र एमालेलाई पन्छ्याएर नयाँ समिकरण निर्माणको सम्भावना बढ्दै गइरहेको छ । बुधबार बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलले लगभग मधेशमा पुनः जसपा नेतृत्वको सरकार कायम रहने संकेत दिइसकेको छ ।

देउवा निवासमा भएको छलफललाई आधार मान्ने हो भने जसपा नेपालले मुख्यमन्त्री समेत चार मन्त्रालय, नेपाली कांग्रेसले चार मन्त्रालय र लोसपा तथा एकीकृत समाजवादी पार्टीले दुई दुई मन्त्रालय लिएर सरकारलाई पुर्णता दिने गरी सहमति भएको बुझिएको छ ।

अंक गणितले साथ देला त ?

१०७ जना सांसद रहेको मधेश प्रदेशमा सरकार बनाउन आवश्यक बहुमत ५४ जनामा पुग्छ । नेपाली कांग्रेससँग २२ जना सांसद छन् भने जसपा नेपालसँग १९ जना । लोसपाका एक जना निलम्बित रहेको अवस्थामा ८ जना बाँकी छन् । एकीकृत समाजवादीसँग ७ जना । यसरी यी चार दल मिल्यो भने ५६ जना पुग्न जान्छ । अर्थात् सरकार बन्न सम्भव छ ।

Facebook Comments Box