सात वर्षदेखि बिग्रिरहेको ट्रयाक मिलाउँदैछुः मुख्यमन्त्री सिंह
जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो नेतृत्वमा प्रदेश सरकार सञ्चालन भएको सय दिनको अनुभव सार्वजनिक गरेका छन् ।
बुधबार जनकपुरधामस्थित एक होटलमा सञ्चारकर्मीहरुलाई भेला गरी मुख्यमन्त्री सिंहले सय दिनमा आफु र आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले गरेका महत्वपूर्ण कामहरु सार्वजनिक गरेका हुन् ।
उनले विगत सात वर्षदेखि प्रदेशमा बिग्रिरहेको ट्रयाकलाई मिलाउने पर्यत्नमा लागेको जिकिर गरेका छन् । आफु मुख्यमन्त्री पदमा आउनु अगाडी सबै बिग्रेको उल्लेख गर्दै सिंहले समग्रमा कर्मचारीतन्त्रमा सुधारको आवश्यक्ता महसुस गरेको दर्शाए ।
प्रदेशसभाबाट महत्वपूर्ण विधेयकहरु पारित भएको आवश्यक कानुनहरु निर्माण पक्रिया अगाडी बढाइएको उनले दावी गरेका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्र पढाउन पाएको स्वीकृति र अस्पतालमा शय्या थप्न गरेको निर्णयलाई पनि मुख्यमन्त्री सिंहले सरकारको महत्वपूर्ण उपलब्धीको रुपमा उल्लेख गरेका छन् ।
प्रदेशका सबै जिल्लामा शैक्षिक पार्क स्थापना गर्ने लक्ष्यलाई नीति कार्यक्रमकै शैलीमा प्रस्तुत गरेर मुख्यमन्त्री सिंहले सय दिनको उपलब्धीमा अटाएका छन् । उनले प्रदेशमा शान्ति सुरक्षाका लागि प्रदेश प्रहरीसँग सन्तोषजनक समन्वय भइरहेको बताए ।
प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले छोटो समयमा आफुहरुले ल्याएको नीति तथा कार्यक्रम र बजेटप्रति गर्व महसुस गर्नुपर्ने जिकिर गरेका छन् ।
जेठ २५ गते अपरान्हको समयमा बनेको सरकारले साढे तीन दिनमा नीति तथा कार्यक्रम ल्याएको र निर्धारित समयमै सबैको भावनालाई समेटिनेगरी बजेट ल्याएको दावी मन्त्री यादवको थियो । उनले अगामी दिनमा प्रदेशको सुशासनलाई केन्द्रमा राखेर सरकारले बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।