जनकपुरमा व्यवसायीको चुनावले के दियो सन्देश ?

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न भएको निर्वाचनले नयाँ सन्देश दिएको छ ।

जातिगत रुपमा बहुसंख्यक व्यवसायीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका दुई जना अध्यक्षका प्रत्यासी पराजित भएका छन् । एक जना अल्पसंख्यक जातिको प्रतिनिधि निर्वाचित भएका छन् । मनिष रमण साह र जितेन्द्र प्रसाद साह पराजित हुँदा जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी (माली) निर्वाचित भएका हुन् ।

यो निर्वाचनलाई दुई दृष्टिकोणले विश्लेषण भइरहेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघले सम्भवतः पहिलो पटक गैरसाहु अध्यक्ष पाएको छ । जातिगत आधारमा विश्लेषण गर्नेहरुले संघमा सुडी, तेली र कलवारबाहेकको जातजातिबाट प्रतिनिधित्व हुनु दुर्लभ मान्छन् ।

अर्को दलगत सन्दर्भ आउँछ ।

जनकपुरधाम क्षेत्रमा अहिलेसम्म नेपाली कांग्रेसले जितेको इतिहास छैन । चाहे त्यो संसदीय निर्वाचन होस् या स्थानीय ।

संघकै अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि मनिष रमण साहले पराजित गरेका सुरेन्द्र भण्डारी यतिबेला अध्यक्षमा तिनै मनिष रमणलाई पछारेका हुन् ।

संघको निर्वाचनमा राजनीतिक दलहरु प्रष्ट रुपमा संलग्न नदेखिएपनि आन्तरिक रुपमा चुनावी मैदानमा होमिएका तीन मध्ये दुई उम्मेदवारको पछाडी दुई ठूला दलको समर्थन थियो । भण्डारीले एमालेका समर्थन पाउँदा मनिष रमणलाई कांग्रेसले बैठकै बसेर समर्थनको घोषणा गरेको थियो ।

नेपाली कांग्रेसले अहिलेसम्म जित्न नसकेको यो क्षेत्रमा व्यापार संघका उम्मेदवारले पनि त्यहीँ हारको नियति भोग्नु परेको विश्लेषण चिया पसलहरुमा सुन्न सकिन्छ ।

यस अघि नेपाली कांग्रेस पृष्ठभूमि भएपनि स्वतन्त्र उम्मेदवारको रुपमा स्थानीय तहमा जितेका प्रतिनिधिहरु बजरंग साह, वृषेशचन्द्र लाल, तत्कालिन उपमेयर लालकिशोर साह र अहिले मनोज साह हुन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनलाई जातिगत वा दलगत जे सन्दर्भमा विश्लेषण गरिएपनि जातिगत संकिर्णताको घेरालाई तोडेको सन्देश दिएको छ । बहुसंख्यक व्यवसायीको मतबीच अल्पसंख्यक व्यवसायीले नेतृत्वको अवसर प्राप्त गर्न पाउनु सकारात्मक सन्देश हो ।

यद्यपि, बहुसंख्यक व्यवसायीकै साथ र समर्थनले अल्पसंख्यक समुदायका प्रतिनिधिले अवसर पाएको आधारमा भण्डारीको जीतले सामाजिक अन्तरघुलन र जातीय संकिर्णतालाई किनारा लगाएको बुझ्न सकिन्छ ।

Facebook Comments Box
न्यूज आज