जानकी आँखा अस्पतालमा लफडा

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालन भइरहेको छ जानकी आँखा अस्पताल । जनकपुरधामको रामानन्द चोकस्थित जानकी आँखा अस्पताल सञ्चालक समितिमा रेडक्रसले नियुक्त गरेको एक अध्यक्ष र एक कोषाध्यक्ष हुन्छन् । रेडक्रसको जिल्ला शाखा अध्यक्ष अस्पताल सञ्चालन समितिका पदेन उपाध्यक्ष रहने व्यवस्था छ । अस्पताल सञ्चालन समितिका निवर्तमान अध्यक्ष समितिमा पदेन सदस्य र अस्पताल प्रमुख (मेडिकल डाइरेक्टर) पदेन सदस्य–सचिव रहने व्यवस्था छ ।
अस्पताल सञ्चालन समितिका अध्यक्ष छन् धनुषा रेडक्रसका अध्यक्ष नरेश प्रसाद सिंह । जिल्ला रेडक्रसका अध्यक्षको नाताले अस्पतालमा पेदन उपाध्यक्ष पनि उनी नै भए । निवर्तमान अध्यक्ष हुनुपर्ने ठाउँमा पुर्व अध्यक्ष डा. विजय सिंहलाई पदेन सदस्य चयन गरिएको छ । सञ्चालन समितिमा बहुमत भएपछि सिंहले एक्लौटी गर्न थालेको आरोप त्यहाँ कार्यरत डाक्टर तथा पदाधिकारीको छ ।
अस्पतालको बेथिति विरुद्ध बोल्ने डा. अमित यादवलाई हटाउन अध्यक्षले षडयन्त्र सुरु गरेका हुन् । डा. यादव विगत पाँच वर्षदेखि जानकी आँखा अस्पतालमा कार्यरत चिकित्सक हुन् । सिंहले अनेक हत्कण्डा रचेर पनि डा. अमितलाई निकाल्न नसकेपछि तलब रोकिदिएका छन् ।
को हुन् डा. अमित ?
पाँच वर्ष अघि छात्रवृतिमा टिचिङ अस्पतालबाट एमडी पढेका डा. अमित यादव स्वास्थ्य मन्त्रालयको सिफारिसमा जानकी आँखा अस्पतालमा काम गर्न थालेका हुन् । त्यसबेला जानकी आँखा अस्पताल सञ्चालन समितिका अध्यक्ष थिए, डा. विजय कुमार सिंह । डा. यादवले दुई वर्षको करार सम्झौताको आधारमा काम सुरु गरेका थिए । उक्त करारको अवधि समाप्त नहुँदै डा. सिंहको पदावधि समाप्त भयो ।
सञ्चालन समितिका अर्का अध्यक्ष गंगाराम यादवले डा. अमितको म्याद थप गरिदिए दुई वर्षका लागि । डा. अमितको अर्को म्याद समाप्त नहुँदै अध्यक्ष यादवलाई पदमुक्त गरी रेडक्रसले उपाध्यक्ष नरेश प्रसाद सिंहलाई सञ्चालन समितिको अध्यक्ष पदमा नियुक्त गरिदियो ।
सिंहले पहिलेदेखि नै डा. यादवको तलबमा बार्गेनिङ गरिरहेका थिए । उनले चाहे अनुसार डा. अमितले साथ दिएका थिएनन् । आफै अध्यक्ष भएर आएपछि सिंहले डा. यादवलाई अस्पतालबाट बाहिर निकाल्ने प्रपञ्च सुरु गर्यो । सोही क्रममा सार्वजनिक भएको हो, अस्पतालमा व्याप्त चरम बेथिति ।
के हो बेथिति ?
अस्पताल सञ्चालन समितिका अध्यक्ष नरेश सिंहले केन्द्रीय रेडक्रसका कर्मचारीलाई प्रभावमा पारेर आर्थिक हिनामिनामा लागेका छन् । खरिद ऐन विपरित करोडौ रकम बराबरको सामान किनेर भुक्तानी गर्न खोज्दा कोषाध्यक्ष धिरेन्द्रमोहन झाले अस्वीकार गरेपछि विवाद बाहिर आएको हो ।
गैर कानुनी प्रक्रियाबाट खरिद गरिएको सामानको भुक्तानी गर्न नमिल्ने भन्दै कोषाध्यक्ष झाले अडान लिएपछि उनलाई नै हटाउन अर्को प्रपञ्च सुरु भएको छ ।
‘म नियम र कानुनको अधिनमा रहेर कोषाध्यक्षको भूमिका निर्वाह गरिरहेको अवस्थामा अध्यक्ष सिंहले हुँदै नभएको काम गरेर भुक्तानीका लागि मलाई दबाव आयो’ झाले भने, ‘मैले हुँदै नभएको काममा अस्पतालको बजेट दुरुपयोग गर्न दिने कुरै भएन । नियमले नदिने काम गर्न नमानेपछि म कोषाध्यक्ष भएर पनि नभएको अवस्था बनाइयो ।’
सञ्चालन समितिका अध्यक्ष सिंहले करिब एक करोड रकम बराबरको सामान नियम विपरित खरिद गरेको झाको भनाई छ । उक्त रकम भुक्तानी गर्न नमानेपछि आफुलाई बेवास्ता गरी केन्द्रीय रेडक्रसले अस्पतालका प्रमुख र एकाउन्टेन्टलाई अख्तियारी दिएर भुक्तानी गर्न लगाएको छ । जुन कानुन विपरित काम भएको जिकिर झाको छ ।
अस्पताल सञ्चालन समितिका कोषाध्यक्ष झा र डा. यादवले आन्तरिक रुपमा अस्पतालको बेथिति विरुद्ध संघर्ष गरेर पनि नसकेपछि नागरिक समाजलाई गुहारेका छन् । यसै क्रममा गत बिहीबार बिहान राजनीतिक दलका प्रतिनिधिहरु तथा सामाजिक संघ संस्थाका अगुवाहरु भेला भएर अस्पताललाई धारासायी बनाउने खेल विरुद्ध सक्रिय भएका छन् ।
शुक्रबार विभिन्न राजनीतिक दल तथा सामाजिक अगुवाहरुको समूह अस्पतालमा पुगेपछि अनियमिततामा लागेका कर्मचारीहरुले प्रतिवाद गर्न पुगे । अस्पतालको अहितमा काम गर्ने कर्मचारीहरुकै पक्षपोषण गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरिया प्रस्तुत हुन थालेपछि दुई पक्षबीच तनाव बढेको हो ।
अस्पतालको बेथितिलाई सार्वजनिक गर्न खोज्ने पूर्व स्वास्थय राज्यमन्त्रीद्वय रामसिंह यादव र डा. सुरेन्द्र यादव, माओवादीका दिपक यादव, एमालेका सुरेन्द्र भण्डारी, कांग्रेसका जीवनाथ चौधरी, जसपा नेपालका पशुपति यादव, नागरिक समाजका अगुवा दिनेश पुर्वे, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, मेलान प्रदेश अध्यक्ष सुरेश शर्मा लगायत सामाजिक अगुवाहरु सक्रिय भएका छन् ।
यो पनि : जानकी आँखा अस्पतालमा ‘मुठभेट’