जानकी आँखा अस्पतालमा ‘मुठभेट’
जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालित जानकी आँखा अस्पतालमा नागरिक र कर्मचारीबीच मुठभेट भएको छ ।
अस्पताल सञ्चालन समितिका सभापति नरेश सिंहले एक्लौटी निर्णय गरेर आफु अनुकुल काम गरेको भन्दै स्थानीय आन्दोलित छन् । आन्दोलनकै क्रममा शुक्रबार संघीय सरकारका दुई जना पूर्व स्वास्थ्य राज्यमन्त्रीसहित जनकपुरका स्थानीय बासिन्दाहरुले अस्पताल घेराउ गरे । आक्रोसित स्थानीयको भिडलाई नियन्त्रण गर्न खोजेपछि अस्पतालका एक जना कर्मचारीमाथि हातपात भएको थियो भने अस्पतालमा समान्य तोडफोड पनि भएको छ ।
अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा केही कर्मचारी र स्थानीय आक्रोसित भिडबीच घम्साघम्सी सुरु भएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले छलफलको लागि दुवै पक्षलाई बोलाएको थियो । छलफलको क्रममा सिडिओले कर्मचारीकै पक्षमा केन्द्रीत भएपछि पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका एमाले केन्द्रीय सदस्य रामसिंह यादवले हपार्दै संस्थाको हितमा प्रस्तुत हुन चेतावनी दिएका थिए ।
दुवै पक्षबीच छलफलका लागि भनेर बोलाइएपनि सिडिओ एकतर्फी भएपछि आवेगमा आएका थिए पूर्व स्वास्थ्य राज्यमन्त्री यादव । उनलाई अर्का पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुले पनि साथ दिएका थिए । आन्दोलनकै रुपमा उनीहरु प्रस्तुत भएपछि सिडिओ कडरियाले वातावरण सहज बनाउने प्रयास गरे ।
आफुले परिस्थितिलाई नियन्त्रणमा लिन सहज नदेखेपछि उनले गृह मन्त्रालयमा समन्वय गरी एक हप्ताभित्र समस्या समाधानको लागि तत्काल पहलकदमी लिन सिडिओले तत्परता देखाए । तर, आन्दोलनकारीहरुले भने लिखित रुपमा सिडिओले प्रतिबद्धता जनाए मात्र आन्दोलन रोकिने नभए संघर्ष जारी राख्ने चेतावनी दिएका छन् ।
यसअघि बिहीबार अस्पताल पीडित कर्मचारी, डाक्टरहरुले सर्वपक्षीय भेला बोलाएर अस्पतालको समस्या समाधानका लागि पहल होस् भनेर अन्तरक्रिया गरेका थिए । उक्त अन्तरक्रियामा सबै राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संघ, संस्थाकाका अगुवाहरु सहभागी थिए ।