पार्लरलाई ‘फेयर पेशा’ बनाउन ब्यूटिशियनलाई प्रशिक्षण

जनकपुरधाम । कोभिड –१९ ले गाँजेको अर्थतन्त्रले देशैभरको बजार आजसम्म थिलथिलो भइरहेको छ । तराई मधेशको बजार क्षेत्र यसबाट अछुतो रहने कुरै भएन । तर, यस्तो अवस्थामा पनि कुनै व्यवसाय वा पेशा फस्टाइरहेको छ भने त्यो हो ‘सौन्दर्य कला ।’

अहिलेको युग भनेको सूचना प्रविधिको युग हो । सूचना प्रविधिसँगै सामाजिक सञ्जालका विभिन्न नेटवर्कहरुको विकास भएको छ । योसँगै आफुलाई आफ्नै हैसियतको रंगमञ्चमा प्रस्तुत गर्ने प्रतिस्पर्धा चलेको छ, सर्वसधारणमा । त्यो रंगमञ्चमा आफुलाई चाहिने श्रृंगारको मामिलामा कसैले कम्परमाइज गरेको देखिदैन । यसअर्थमा श्रृंगार र ब्यूटी पार्लरको क्षेत्रमा आर्थिक मन्दीले खासै असर पारेको जस्तो नदेखिएको हो ।

सहरमा मात्रै होइन, अचेल गाउँ गाउँमा ब्यूटी पार्लरमा लागेकाहरुको पेशा फस्टाइरहेको छ । तर, एउटा समस्या छ जुन धेरैले जानकारी पाउन सकिरहेका छैनन् । त्यो हो, सौन्दर्यको नाउँमा अनुहारको छालै बिग्रिने केमिकलको प्रयोग ।

समान्यतया ब्यूटी पार्लरको काम भनेको फेसियल गर्न र महिलाको कपाल काट्ने सीप सिकेपछि पुग्ने बुझिन्छ । तर, फेसियल गर्दा रङ्गमा प्रयोग गरिने केमिकलको बारेमा धेरैलाई जानकारी नै हुँदैन ।

त्यस्तै, कपालमा लगाउने तेलको किसिम, तेल लगाउने तरिका, तेल लगाएर कपाल वा छाला कतिवेरसम्म राख्ने वा कति समयपछि पखाल्ने ? लगायत विषयमा पूर्ण जानकारी अति आवश्यक छ, ब्यूटी पार्लरकर्मीहरुका लागि ।

यस्तै आवश्यक्ताहरुको बारेमा आम ब्यूटिशियनहरुलाई प्रशिक्षित गर्ने जमर्को गरेको छ, प्रोक्सी ब्यूटी एण्ड ट्रनिङ हबले । यस हबकी सञ्चालिका संघर्ष खड्काले ब्यूटिशियनको भूमिका समाजमा स्तरीय हुनुपर्ने उल्लेख गर्दै सबैलाई आफ्नो पेशाप्रति जिम्मेबार बनाउन यो प्रशिक्षणको आवश्यक्ता रहेको बताइन् ।

‘हामीले कसैलाई राम्री बनाइदिन पारिश्रमिक लिने हो । अन्जानवश क्षणिक राम्री बन्न खोज्दा पछि नकारात्मक असर पर्ने अवस्था आयो भने हाम्रो पेशागत धर्मप्रति प्रश्न उठ्छ’ खड्काले न्यूज आजसँग भनिन्, ‘हो । यो विषयमा हामी निकै सचेत र जिम्मेबार बन्नुपर्छ । यसैका लागि आज हामी प्रोक्सी ब्यूटी एण्ड टे«निङ हबको तर्फबाट निःशुल्क प्रशिक्षण दिन थालेका छौं ।’

काठमाडौंबाट ब्यूटी क्षेत्रमा काम सुरु गरेकी खड्काले जनकपुरमा शाखा विस्तार गरेकी हुन् । निकट भविष्यमा वीरगंज र त्यसपछि अन्य सहरहरुमा पनि उपस्थिति जनाउने योजना रहेको उनले बताइन् ।

हाल जनकपुरधामको शिव चोकस्थित मिश्रा मार्टमा प्रोक्सी ब्यूटी पार्लर सञ्चालन गरिएको छ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज