मुख्यमन्त्रीसँग तालमेल नमिल्दा सिके राउतको बौख्लाहट

जनकपुरधाम । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्ष सिके राउतले मुख्यमन्त्री सतिश सिंहसँग तालमेल नमिल्दा बौख्लाएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका राउतले प्रदेश सरकारमा चाहेको हस्तक्षेपमा सफल नभएपछि बौख्लाएको देखिन्छ ।
प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको बजेटमा जनमत पार्टीको हैकमले काम नगरेपछि पार्टी अध्यक्ष जस्तो व्यक्तिले गैरमर्यादित र अर्थहिन वक्तव्य दिँदै हिँडेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले टिप्पनी गरेका छन् । चालु आर्थिक वर्षमा जस्तो कानुन विपरित बजेटमा चलखेल गर्न नपाएपछि राउतले निराधार वक्तव्यबाजीमा लागेको उनले बताए ।
‘यो बजेट सरकारले ल्याएको हो र सरकारको नेतृत्व माननीय सिके राउत नेतृत्वको पार्टीले नै गरिरहेको छ’ कांग्रेस नेता यादवले भने, ‘बजेटमा कुनै त्रुटि भएको छ भने त्यसको जिम्मेवारी जनमत पार्टीकै नेता समेत रहेका मुख्यमन्त्रीजीले लिनुपर्ने होइन र ?’
विगतमा देखिएका गैरकानुनी प्रक्रियाहरुलाई नियन्त्रित गर्दै बजेट निर्माणको विधिलाई अबलम्बन गरिएको अर्थमन्त्री सुनिल यादवले बताएका छन् । उनले बजेट बनाउने र सफ्टवेयरमा इन्ट्री गर्ने प्रक्रियालाई कानुनको अधिनमा ल्याएको दावी गरे ।
‘सरकारले गठबन्धन दलहरुको सहमतिमा बजेटको सिलिङ तोक्ने काम गरेको थियो । निर्धारित सिलिङभित्र रहेर सम्बन्धित मन्त्रालयहरु आफैले बजेट इन्ट्री गरेको हो । जसको मोनिटरिङ स्वयम् माननीय मुख्यमन्त्रीजीले गर्नुभएको छ’ अर्थमन्त्री यादवले भने ।
नेपाली कांग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता यादवले सरकारको नेतृत्व र नियमनको जिम्मेवारी मुख्यमन्त्रीको भएको उल्लेख गर्दै कुनै मन्त्री वा मन्त्रालयबाट कमजोरी भएपनि त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने उल्लेख गरे । उनले चालु आर्थिक वर्षको बजेटमा जनमतको एकल बर्चस्व रहेको उल्लेख गर्दै अगामी वर्षको बजेटलाई मर्यादित बनाउने प्रयास गर्दा उत्पात मचाउन खोजिएको आरोप लगाए ।