तलब सरकारको, काम निजीमा

‘हाम्रो अस्पताल सुधार्ने जिम्मेवारी वहन गर्नुपर्ने निर्देशक जस्तो गरिमामय पद धारण गरेका व्यक्तिले दिउँसै सेतो प्लेटको गाडी गेट अगाडी पार्किङ गरेर निजी क्लिनिकमा बिरामी जाँच्ने काम गर्दा रहेछन् । हाम्रै कर्मचारीको यस्तो प्रवृतिले बदनामी ल्याउने हो ।’

जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डित नियमित प्रक्रियामा एक तह बढुवा भएर एघारौं तहमा पुगेका छन् । तर, उनलाई त्यो बढुवा स्वीकार्य भएन ।

समान्यतया कुनै पनि कर्मचारी बढुवाको नाम सुनेर हुरुक्कै हुन्छन्, खुशी हुन्छन् । तर, डा. पण्डितले त्यो बढुवा सहजै स्वीकार गर्न सकिरहेका छैनन् । ‘किन होला त यस्तो ?’ आम जिज्ञासा हुनसक्छ ।

डा. पण्डित सरकारी सेवामा संघीय सरकारका तलबी कर्मचारी हुन् । उनले आफ्नो निजी स्वामित्वमा जनकपुर सिटी अस्पताल सञ्चालन गरिरहेका छन् । यी बाहेक विभिन्न औषधी पसलहरुमा आफ्नो नामको बोर्ड झुन्ड्याएर क्लिनिकहरुको नाउँमा पूर्जा बेच्ने काम त छँदैछ ।

खासमा डा. पण्डितले निजी स्वामित्वको अस्पताल र क्लिनिकहरुबाट राम्रै आम्दानी गरिरहेका छन् । तर, उनको शोक छ सरकारी सेवा पनि । र, जनकपुर प्रादेशिक अस्पतालमा जागिर खाइरहेका छन् । तर, त्यो जागिर तलबको भन्दा पनि अलगै स्वार्थपुर्ती गर्ने उदेश्यले हो ।

हालै संघीय कर्मचारी र प्रादेशिक कर्मचारीको समस्या लिएर मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादव मुख्यमन्त्री सतिश सिंहलाई भेट्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए । जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. पण्डित पनि उनीसँगै थिए । डा. यादवले मुख्यमन्त्रीसँग गुनासो गरे, ‘हाम्रो अस्पताल सुधार्ने जिम्मेवारी वहन गर्नुपर्ने निर्देशक जस्तो गरिमामय पद धारण गरेका व्यक्तिले दिउँसै सेतो प्लेटको गाडी गेट अगाडी पार्किङ गरेर निजी क्लिनिकमा बिरामी जाँच्ने काम गर्दा रहेछन् । हाम्रै कर्मचारीको यस्तो प्रवृतिले बदनामी ल्याउने हो ।’ डा. यादवको उक्त आरोपवारे सँगै रहेका निर्देशक पण्डितले कुनै जवाफ दिन सकेनन् । न त मुख्यमन्त्रीले नै त्यसबारे थप केही बोल्न सके ।

नेपाल सरकारको कर्मचारी भएपछि एक जिल्लाबाट अन्य जिल्लामा सरुवा भइरहनु स्वभाविक प्रक्रिया हो । डा. पण्डितलाई अन्यत्र जिल्लामा कहिल्यै सरुवा नै नगरेको होइन । तर, आर्थिक प्रलोभनमा हो कि राजनीतिक आवरणमा ∕ उनले सरुवा गरिएको ठाउँमा बसेर अहिलेसम्म काम गर्नुपरेको छैन ।

केही वर्ष अगाडी डा. पण्डितलाई सर्लाहीको लालबन्दी अस्पतालमा सरुवा गरिएको थियो । तर, उनले त्यहाँ बसेर काम गरेको रेकर्ड छैन । स्रोतको अनुसार कागजी रुपमा तीन वर्षसम्म उनले लालबन्दीमा बसेर काम गरेको रेकर्ड त छ तर, बास्तविक रुपमा त्यहाँ बसेर एक हप्ता पनि काम गर्नु परेन । राजनीतिक सेटिङ मिलाउन सफल भएपछि तलब पाउन भने कठिन नभएको सर्लाही अस्पतालका एक कर्मचारीले न्यूज आजलाई जानकारी दिए ।

त्यसको केही वर्षपछि बर्दिबासमा सरुवा गरिए । तर, त्यो सरुवा पनि कागजमै सिमित रहयो । फेरि गाईघाटमा सरुवा भए । तर, डा. पण्डित त्यहाँ गएर पनि काम गर्नु परेन । यतिबेला उनलाई तलब दिने सरकारको निकायले जिम्मेवारी तोकेको अस्पताल हो, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौं ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पछिल्लो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री भएको भोलीपल्टै डा. पण्डित एक तह बढुवा भए । सँगै उनलाई सरुवा गरियो जनकपुर प्रादेशिक अस्पतालबाट काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा ।

डा. पण्डितलाई जनकपुरबाट काठमाडौंमा सरुवा गरिएको पनि तीन महिनाभन्दा बढी भइसक्यो । उनी गत फागुन अन्तिम साता एक तह बढुवासँगै जनकपुरबाट सरुवा भएका हुन् । तर, भौतिक रुपमा आज पनि उनी जनकपुरमै छन् । बढुवा भएको पत्र बुझ्न पनि गएनन् । आखिर किन ? जनकपुर प्रादेशिक अस्पतालका एक जना स्वास्थ्य अधिकृत भन्छन्, ‘यसको जवाफ मधेशका मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीसँग होला ।’

Facebook Comments Box

Author Profile

सुरेशकुमार यादव
सुरेशकुमार यादव