प्रादेशिक अस्पतालमा डाक्टरको दलाली, डाइरेक्टरको संरक्षण

यो अस्पतालमा यस अघि पनि दैनिकजसो बिरामीलाई उपचार गर्नुभन्दा सकभर बाहिरको अस्पतालमा जान बाध्य पार्ने गतिविधि भइरहेको छ ।

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा काम गर्ने डाक्टरहरु बिरामीलाई निजी अस्पतालमा पठाएर कमिशन खाने दलालीमा लागेका छन् । जनताले तिर्ने कर संकलन गरेर सरकारले सञ्चालन गरिरहेको प्रादेशिक अस्पताललाई त्यहाँ कार्यरत डाक्टरहरुले दुहुनो गाईको रुपमा उपभोग गरिरहेको आरोप स्थानीयको छ ।

अस्पतालका डाक्टरहरुले दलाली गरिरहेको आरोप गम्भिर विषय हो । तर, यो आरोपलाई स्वयं त्यहाँका डाइरेक्टर रामनरेश पण्डितले पुष्टी गरेका छन् ।

बुधबार न्यूज आजका संवाददाता प्रादेशिक अस्पतालमा पुग्दा अस्पतालको वारेमा समाचार नलेख्न थर्काउने डाइरेक्टर पण्डितले बिरामीको उपचारमा लापर्वाही गर्ने डाक्टरहरुलाई झन उस्काउने काम गरे ।

कुराकानीको क्रममा संवाददातासँग उनले भनेका थिए, ‘अस्पतालको राम्रो पक्षवारे समाचार लेख्नुभो भने स्वागत छ, खराब पक्षलाई समाचार बनाउनुभो भने तपाई बाहिरबाट परिचालित हुनुहुन्छ भनेर आरोप लगाउँछु ।’

बुधबार बिहान करिब १० बजे धनुषाको सबैला नगरपालिका –१२, रघुनाथपुरकी करिब ६० वर्षीया वृद्धा मोटरसाइकलबाट लडेर सिकिस्त भई उपचारको लागि जनकपुर ल्याइएकी थिइन् । घाइतेका छोरा विजय यादवले न्यूज आजका संवाददाता सुरेश यादवलाई गाउँले छिमेकीको नाताले फोनगरी घटनावारे जानकारी गराउँदै एम्बुलेन्समा घाइतेलाई लिएर जनकपुर पुग्नै लागेको बताए । विजयले कुन अस्पतालमा राम्रो उपचार सम्भव होला भनेर सोध्दा संवाददाता यादवले प्रादेशिक अस्पतालमा ल्याउन सुझाएका रहेछन् ।

बिरामीलाई प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा लगियो । तत्काल ड्युटीमा खटेका स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचारगरी सिटीस्क्यान गर्नुपर्ने भन्दै लेखेर दिए । सोही अस्पतालमा रहेको सिटीस्क्यानमा सेवा लिन खोज्दा बिग्रिरहेकोले बाहिरैबाट गराएर ल्याउनुपर्ने भनियो । अस्पतालबाहिर उपलब्ध ठाउँमा सिटीस्क्यान गराएर १५ मिनेटभित्रै बिरामीलाई पुनः फिर्ता ल्याइयो । सिटीस्क्यानको रिपोर्ट आउन करिब डेढ घण्टा लाग्यो ।

सिटीस्क्यानको रिपोर्ट लिएर स्वयम् संवाददाता यादव पुग्दा तत्काल ड्युटीमा खटिरहेका मेडिकल अफिसरले हेरेर बिरामीको सम्वेदनशिल अवस्थावारे जानकारी दिँदै बाहिर लग्न सुझाव दिए । बिरामी पक्षले सम्बन्धित डाक्टर (न्युरो सम्बन्धी विशेषज्ञ) उपलब्ध रहे, नरहेको वारे सोध्दा रहेको जानकारी गराइयो । त्यसो भए बोलाएर रिपोर्ट देखाइदिन बिरामी पक्षले अनुरोध गरेपछि ओपिडीमा गएर विशेषज्ञ डाक्टरलाई भेट्न भनियो । बिरामीसँग एकजना बसेर बिरामीका एकजना छोरा र संवाददाता यादवसमेत डाक्टर खोज्दै ओपिडीमा पुगे । ओपिडीको १२ नम्बर कोठा बाहिर खटिरहेका गार्डका अनुसार भेट्न खोजिरहेको डाक्टर अझै आइनपुगेको (दिउँसो करिब सावा १२ बजे) र भिसिको कार्यालयमा भेट्न सक्ने जानकारी प्राप्त भयो ।

अब बिरामी पक्षले कोठा–कोठा चहार्ने कुरा भएन । अस्पतालका डाइरेक्टर (निर्देशक) रामनरेश पण्डित समक्ष पुगेर गुनासो गरियो । पण्डितले दुईतीन दिन अघि मात्रै ती (विशेषज्ञ) डाक्टर आएकोले नियुक्तिपत्रहरु समेत बुझ्न बाँकी रहेको भन्दै ओपिडीमा आउन ढिलो हुनु स्वभाविक भएको प्रतिक्रिया दिए । तर, त्यहाँ रहेका एकजना अन्य डाक्टरले भने यस्तो गम्भिर अवस्थामा रहेको बिरामीलाई इमेर्जेन्सीमै पुगेर डाक्टरले हेर्नेगरी अस्पताल पक्षबाट समन्वय हुनुपर्ने भनिरहे । पण्डितले भनेकै आधारमा करिब एक घण्टासम्म निर्देशककै कक्षमा बसेर सम्बन्धित डाक्टरको प्रतिक्षाको क्रममा अस्पतालको बेथितिवारे अनेक कुराकानी भयो ।

निर्देशकको कार्यकक्षमा एकजना प्रदेश सांसदको पनि उपस्थिति थियो । अन्य दुई जना डाक्टरहरु पनि त्यहाँ थिए । बीचमा एक जना डाक्टर बाहिर निस्के भने अर्का एक जना भित्रिए । अस्पतालको बेथिति र कलम चलाउनुपर्ने आवश्यक्ता अनि डाक्टरहरुको बदमासीवारे धेरै कोणबाट छलफल चलेको थियो त्यहाँ । त्यहीँ क्रममा सरकारी तलब खाने डाक्टरहरु ड्युटीको समय निजी क्लिनिकमा गएर काम गर्ने वारे चर्चा गर्नेबित्तिकै पण्डितले थर्काउँदै भने, ‘तपाईले अस्पतालको राम्रा पक्षवारे समाचार लेख्नुभयो भने ठीक छ नभए बाहिरबाट परिचालित भएर समाचार लेखेको आरोप लगाउँछु ।’

एकजना डाइरेक्टरजस्तो ओहोदामा बसेका व्यक्तिले यतिसम्मको गैरजिम्मेवार शब्द प्रयोग गर्दापनि संवाददाता चुप लागेर सुनिरहे । सोही क्रममा अस्पतालको इमेर्जेन्सी जस्तो सम्वेदनशिल ठाउँमा सरसफाई नगरी लापर्वाही भइरहेको वारे सुनाउँदा सबैजना हेर्न भनेर तल झरे संवाददाताकै अनुरोधमा ।

इमेर्जेन्सीमा पुग्ने बित्तिकै डाइरेक्टर पण्डितकै निर्देशनमा त्यहाँ काम गर्ने अन्य डाक्टर र स्टाफहरुले संवाददातासँग अभद्र तरिकाले प्रस्तुत हुन थाले । पण्डितले यहाँ उपचारसुपचार नहुने भन्दै बाहिर निस्के । बिरामी पक्षले जति हारगुहार लगाउँदा पनि उनी बाहिर निस्केर गइदिए । इमेर्जेन्सी कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरु झन् मातिएको जस्तो व्यवहार गर्न थाले । पछि मेडिसिन क्षेत्रको जिम्मेवारी हेर्ने डाक्टर रामदेव चौधरी र इमेर्जेन्सी विभागका प्रमुख डाक्टर शरद यादवले विशेषज्ञ डाक्टरलाई बोलाइदिएपछि काठमाडौंस्थित वीर अस्पताल वा ट्रमा सेन्टरमा रेफरको कुरा भयो । अहिले बिरामीलाई काठमाडौं लगिएको छ ।

गरिब र निमुखाहरुको उपचार हुने अस्पताल जस्तो सम्वेदनशिल संस्थाको डाइरेक्टर जस्तो गरिमामय पदमा आसिन भएर बिरामीको उपचारमा बेवास्ता गर्ने र बाहिरको अस्पतालमा लग्न बाध्य पार्ने अप्रत्यक्ष रुपमा दलालीलाई प्रबद्र्धन गर्ने व्यक्तिलाई तत्काल कारबाहीको माग पीडित पक्षको छ । यो अस्पतालमा यस अघि पनि दैनिकजसो बिरामीलाई उपचार गर्नुभन्दा सकभर बाहिरको अस्पतालमा जान बाध्य पार्ने गतिविधि भइरहेको छ । जिम्मेवार पदाधिकारीहरुले उनीहरुलाई संरक्षण गर्ने काम गरिरहेको आम बिरामी र कुरुवाहरुको गुनासो छ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज