डुब्यो रौतहटको गंगापिपरा स्वास्थ्य चौकी, तत्काल स्वास्थ्य सेवा सुचारु गर्न निर्देशनालयको तयारी

रौतहट । दुर्गा भगवती गाउँपालिकास्थित गंगापिपरा स्वास्थ्य चौकीमा बाढीको पानी पसेर अति आवश्यक औषधी लगायत स्वास्थ्य उपकरणहरु नष्ट भएको छ ।
शनिबार बिहानदेखि सुरु भएको अविरल वर्षाले बस्तीमा बाढी आएको थियो । शनिबार राति स्वास्थ्य चौकीमा पानी पसेर नियमित स्वास्थ्य जाँचका लागि प्रयोग गरिने उपकरण तथा सरकारको तर्फबाट निःशुल्क बाँडिने औषधीहरु नष्ट भएको स्वास्थ्य संस्थाका इन्चार्ज डा. विजय महतोले जानकारी दिए । स्वास्थ्य चौकीमा कम्तीमा ५० लाख रुपैयाँ बराबरको क्षति भएको उनको अनुमान छ ।
मधेश स्वास्थ्य निर्देशनालयले अविरल वर्षाको कारण सम्भावित स्वास्थ्य समस्या समाधानका लागि मातहतका सबै निकायलाई सचेत गराएको थियो । निर्देशक सरोजचन्द्र न्यौपानेको सक्रियतामा प्रदेशका सबै जिल्ला तथा पालिकास्थित स्वास्थ्य संस्थाहरुको अवस्थावारे अपडेट लिने काम भइरहेको छ । सोही क्रममा प्रदेश स्वास्थ्य निर्देशनालय अन्तरगत रहेको चिकित्सा तथा महामारी रोग नियन्त्रण शाखाका फोकल पर्सन युगल किशोर यादव नेतृत्वको टोलीले आइतबार गंगा पिपरा स्वास्थ्य चौकीको स्थलगत अवलोकन गरेको हो ।
‘आज हामी जनकपुरबाट आएर स्वास्थ्य चौकीमै पुगेर हेरेका छौं’ यादवले न्यूजआजसँग भने, ‘रक्तचापका बिरामीलाई दैनिक आवश्यक पर्ने औषधीदेखि अति आवश्यक सिटामोल, जीवनजल र डेलिभरी सेट तथा अक्सिजन नेवुलाइजरसमेत सबै प्रकारका औषधी र स्वास्थ्य जाँचका उपकरणहरु बाढीको पानीले डुबाएर नष्ट भएको छ ।’ उनका अनुसार अहिलेकै अवस्थामा बिरामीलाई सेवा दिन यो स्वास्थ्य संस्था पूर्ण रुपले असमर्थ रहेको छ ।
महामारी रोग नियन्त्रण फोकल पर्सन यादवले प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने साझेदार निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत निकायसँग सहयोग लिएर भोली (सोमबार) नै तत्काल स्वास्थ्य सेवा सुचारु गराउने तयारीमा जुटेको जानकारी दिए । अविरल वर्षाको प्रभावले क्षतिग्रस्त स्वास्थ्य संस्थाको स्थलगत अवलोकन गर्न फोकल पर्सन यादवसँगै खोप सुपरभाइजर अधिकृत राजदेव यादव सहितको टोली गंगापिपरा पुगेको थियो ।