मधेश प्रदेशसभा भवनमा कांग्रेस महामन्त्री शर्मा

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार मधेश प्रदेशसभाको क्षतिग्रस्त भवनहरुको अवलोकन गरेका छन् ।
नवपुस्ता (जेनजी) को आन्दोलन क्रममा मधेश प्रदेशसभा भवनमा पुगेको क्षति अवलोकन गर्दै महामन्त्री शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि प्रदेशसभाको प्रथम बैठकले संकल्प प्रस्ताव पारित गरेकोमा सभामुख रामचन्द्र मण्डल र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई धन्यवाद दिए ।
आन्दोलनमा क्षति पुगेका सार्वजनिक तथा निजी भौतिक संरचनाहरुको अवलोकन गर्दै पीडित जनप्रतिनिधि, राजनीतिकर्मी तथा व्यक्तिहरुलाई सान्तवना दिन महामन्त्री शर्मा मधेश प्रदेशका सबै जिल्ला पुग्न लागेका हुन् ।
मधेश प्रदेशसभाको क्षतिग्रस्त भवनसँगै नेपाली कांग्रेसको मधेश प्रदेश कार्यसमितिको कार्यालय, पार्टीका सहमहामन्त्री महेन्द्र यादव, प्रदेश मन्त्री शेषनारायण यादव र हंसपुर नगरपालिका प्रमुख प्रदीप यादवको जलेको घर अवलोकन गरेका छन् ।
महामन्त्री शर्माले नवपुस्ताको आन्दोलनले उठाएका जायज मुद्दाको पक्षमा पार्टी उभिने उल्लेख गर्दै मुलुकमा सुशासन कायमका लागि नेता तथा कार्यकर्तालाई सक्रियता देखाउन निर्देशन दिए । उनले यो मुलुक सबै उमेर समूह र वर्गको साझा धरोहर रहेको हुँदा यसको संरक्षण र सम्बद्र्धन गर्नु पनि सबैको साझा कर्तव्य भएको बताए ।
उनले भने, ‘भ्रष्टाचारलगायत सार्वजनिक निकायमा हुने सबै प्रकारका बेथितिको अन्त्य गर्दै सभ्य र समृद्ध मुलुक निर्माण अभियानमा सबै जुटौँ ।’