गृहमन्त्रीको प्रश्न- कर्मचारीमाथि अनुसन्धान हुँदा मैले राजीनामा दिनुपर्ने ?

गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक जीवनमा एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भए पदबाट मात्रै नभई राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको पनि बताए ।

‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन’ शनिबार साँझ काठमाडौंमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लेखकले भने, ‘मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु ।’

उनले यसबारे थप प्रष्ट पार्नका लागि आगामी १३ गते प्रतिनिधिसभामा समय लिइसकेको र थप त्यही बेलामा बताउने पनि जानकारी गराए ।

साथै, उनले गृह मन्त्रालय अन्तर्गत लाखको संख्यामा कर्मचारी रहेको भन्दै जुनसुकै बेला जुनसुकै कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताए ।

‘गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन, लाखमा कर्मचारी छ । यत्रा कर्मचारीमा कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ’ उनले भने, ‘अनि कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदै गर्दा सबै मन्त्रीले राजीनामा दिंदै जाने हो ? त्यही पद्धति बसाउँदै जाने हो ? आजसम्म त्यस्तो भएको छ ?’

Facebook Comments Box
    ट्याग: