मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिँदै

जनकपुरधाम । एउटै कार्यकालमा तेस्रो पटक गठबन्धन फेरबदलको सामना गर्नुपरेका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार अपरान्ह ३ बजे प्रदेशसभामा विश्वासको मत लिन तयार भएका छन् । प्रदेशसभा सचिवालयले सूचना सार्वजनिक गर्दै मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको जनाएको हो ।

कानुनी प्रावधान अनुरुप विश्वासको मत लिनु पर्ने भएपनि मुख्यमन्त्री यादवले विश्वासको मत पाउन नसक्ने करिब निश्चित भएको छ । एमाले र माओवादीका मन्त्रीहरुले राजीनामा दिँदै दुवै दलले एकैसाथ सरकारलाई दिइएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको यादव नेतृत्वको सरकारमा एकीकृत समाजवादीले भने साथ दिइरहेको थियो ।

मंगलबार अन्य प्रदेश र संघीय सरकारमा रहेको सत्ता समिकरणको दबावमा परेका माधव नेपालले मधेश प्रदेशमा पनि संघीय गठबन्धनलाई नै कायम राख्न बाध्य भएपछि सरोज कुमार यादवको सरकार संकटमा परेको हो । यस अघि एमाले, माओवादी र जनमतलाई बाहिरै राखेर पनि नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादीको साथ पाएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने दाउमा थिए सरोज यादव ।

अहिलेसम्मको अवस्था हेर्दा बुधबार मुख्यमन्त्रीलाई जसपासँगै नेपाली कांग्रेसले विश्वासको मत दिने निश्चित भएको छ भने लोसपाले निर्णय लिइनसकेको अवस्था छ । यादवलाई विश्वासको मत नदिने पक्षमा एमाले, जनमत, एकीकृत समाजवादी, माओवादी र नागरिक उन्मुक्ति पार्टी देखिएको छ । यी दलहरु मिलेपछि स्पष्ट बहुमत पुगेर नयाँ सरकार बन्न सम्भव देखिन्छ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज