मधेशी अनुहारै देखेर सिडिओ कार्यालयमा हेपिन्छः सांसद ठाकुर

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर जिल्ला प्रशासन कार्यालयमा अनुहार हेरेरै मधेशी समुदायसँग फरक व्यवहार भइरहेको आरोप लगाएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै एमाले सांसद ठाकुरले यस्तो आरोप लगाएका हुन् ।
‘दिनभर चर्को घाममा लाइन बसेर नागरिकताका लागि पुगेका सर्वसधारण जनता सिडिओ कार्यालयमा अनावश्यक पीडित भइरहेका छन्’ सांसद ठाकुरले भने, ‘मधेशी अनुहार हेर्ने बित्तिकै सिडिओले यो कागज पुगेन त्यो पुगेन भनेर फर्काइन्दिन्छन् । यो अन्याय हो । यस विरुद्ध सरकारले बोल्नुपर्छ ।’
सांसद ठाकुरले पञ्चायती व्यवस्था विरुद्ध जनकपुरमा तत्कालिन राजा महेन्द्र उपर दुर्गानन्द झाले बम प्रहार गरेको घटनापछि केन्द्रकृत राज्यले मधेशलाई बजेटमा हेप्न थालेको र त्यो हेपाहा प्रवृतिको सिकार अहिले पनि जनकपुरले भोगिरहेको टिप्पनी गरे । मधेशमै सरकार बनेपनि जनकपुरको विकासमा कुनै सहयोग नभएको उनको भनाई थियो ।
सांसद ठाकुरले सरकार र मन्त्रीहरु विरुद्ध पनि खनिए । ‘मधेश सरकारका मन्त्रीहरुले हामी सांसदको फोन त उठाउँदैन । जनतालाई के भ्यालु गर्दोहोलान् ?’ उनले भने, ‘जति पटक फोन गरेपनि रिसिभ गर्दैनन् । मन्त्री पदमा पुग्ने बित्तिकै रबैया बदलिन्छ ।’
मधेश प्रदेशमा सातवटै प्रदेशमध्ये सर्वाधिक भ्रष्टाचार भएको उल्लेख गर्दै उनले बेरुजुमा एक नम्बर प्रदेश भएको बताए । अगामी बजेटमा खानेपानी र जनकपुरको बाह्रविघा मैदानलाई प्राथमिकतामा राख्न उनले आग्रह गरे ।