‘मन्त्रीज्यू, सांसदको मर्यादा कायम गरिदिनुस्’
जनकपुरधाम । प्रदेश सांसद जनार्दनसिंह क्षेत्रीले सोमबार बसेको प्रदेशसभाको तेस्रो अधिवेशनको प्रथम बैठकलाई सम्बोधन गर्दै सांसदको मर्यादा कायम गरिदिन मन्त्रीहरुसँग आग्रह गरेका छन् ।
‘सांसदहरु अफिस अफिस घुमिरहेका हुन्छन तर कसैले चिन्दैन’, सांसद क्षेत्रीले भने, ‘बिचौलियाहरुले चिट्ठी लिएर घुमिरहेका छन् । यो लज्जास्पद होइन ?’ उनले थपे, ‘सरकार जुनसुकै दलको नेतृत्वमा बनोस् । मन्त्री जोकोही बन्नुहोस् तर हार्दिक अनुरोध गर्छु सांसदको मर्यादालाई कायम गरिदिनुस् ।’ मन्त्रीहरुको व्यवहारमा तत्काल सुधार नभए भोली मन्त्री पदबाट झर्ने बित्तिकै उनीहरुसँग पनि त्यस्तै व्यवहार हुने उनले चेतावनी दिए ।
सांसद क्षेत्रीले अगामी ३० गते बजेट प्रस्तुत हुने संसदमा १० दिन बाँकी रहँदा नीति तथा कार्यक्रमसम्म आउन नसक्नु दुर्भाग्य भएको बताए । यति छोटो समयमा कस्तो नीति कार्यक्रम आउने होला भन्दै उनले भने, ‘नीति कार्यक्रम बनिरहेको छ भने कहाँ र कसले बनाइरहेको छ थाहा भएन ।’
उनले प्रदेश सरकारको तर्फबाट स्तरीय प्राविधिक शिक्षालय सञ्चालन, खानेपानीको भरपर्दो व्यवस्था र मधेशका सम्भावित सबै क्षेत्रको पहिचान गरी पर्यटकीय क्षेत्रको प्याकेज बनाएर प्रबद्र्धन गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गराउन ध्यानाकर्षण गराए ।
स्थानीय तहले प्राविधिक विद्यालय चलाउन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारलाई मजदुरको रुपमा विदेशिने युवालाई सीपयुक्त बनाएर विदेशिनै परेपनि सहज रुपमा काम पाउने र बढी तलब पाउने हैसियत बनाउनेगरी नीति ल्याउन सरकारसँग आग्रह गरे ।