मधेशमा २ हजार युवाले रोजगारीका लागि दिए आवेदन

जनकपुरधाम । मधेश प्रदेशका लागि जनकपुरधाममा दुई दिनसम्म चलेको श्रमाधान रोजगार मेलामा २ हजार युवाले रोजगारीका लागि आवेदन गरेका छन् ।
शनिबार नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले उद्घाटन गरेको मेलामा करिब छ हजार व्यक्तिले अवलोकन गरेका छन् । मेलाको पहिलो दिन शनिबार करिब तीन हजार पाँच सयजना र आइतबार दुई हजार पाँच जनाले मेलाको अवलोकन गरेको मेलाका आयोजक प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले जानकारी दिइन् ।
मेलामा रोजगारीका लागि सेक्युरिटी गार्डको रुपमा काम गर्न इच्छा जाहेर गर्दै आवेदन गरेकाहरु मध्ये ८० जना, होटलमा काम गर्न १०५ जना, अटोमोबाइल क्षेत्रमा काम गर्न ३५ जना र बैंकमा काम गर्न २७ जनालाई अन्तरवार्ताका लागि आमन्त्रण गरिएको छ ।
मेलामा उद्योग प्रतिष्ठानका १४, होटल ४, रोजगार सम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तिय संस्थाका २ र नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्र समेत ६ गरी ३७ वटा स्टल राखिएको थियो ।