प्रदेश प्रमुखको अनुपस्थितिमा रोकिए विपक्षी दलहरु
जनकपुरधाम । मधेशमा सरोज कुमार यादवको सरकार विरुद्ध बहुमत दावी गर्दै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने विपक्षी दलहरुको योजना तत्कालका लागि रोकिएको छ ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिन तयार रहेको भनि मंगलबारका लागि प्रदेशसभालाई जानकारी समेत गराइसकेको अवस्थामा बहुमत दावी गर्नु कानुनी अड्चन हुन सक्ने देखेर तत्काल रोकिएको विपक्षी दलका एक नेताले जानकारी दिए । ‘यसो गर्दा कानुनी अड्चन आउन सक्ने एउटा कुरा भयो । अर्को, सत्तामा पुग्न हतार भनेर जनतामा पनि नराम्रो सन्देश प्रवाह हुन सक्ने भएकाले तत्काल रोकिएको हो’ उनले भने ।
जनमत पार्टी संसदीय दलका नेता महेश यादवले भने आइतबार अबेर साँझसम्म यसवारे निर्णय लिनेगरी छलफल जारी रहेको बताएका छन् । न्यूज आजसँग कुरा गर्दै यादवले भने, ‘प्रदेशसभालाई विश्वासको मत लिनेवारे जानकारी गराइसकेर एक दिनमात्र बाँकी रहेको अवस्थामा बहुमत दावी गर्नुको औचित्य के हुने भन्ने विषयमा पनि छलफल भइरहेको छ’ यादवले भने ।