आजदेखि ढल्केवरमै मालपोत र नापी

जनकपुरधाम । धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ । राष्ट्रियसभा सदस्य एवम् नेपाली कांग्रेस अनुशासन विभागका संयोजक आनन्द प्रसाद ढुंगाना र पुर्व मन्त्री एवम् पार्टीका सहमहामन्त्री महेन्द्र यादवले शुक्रबार एक समारोहबीच संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेपछि सेवा सञ्चालन भएको हो ।
२०७२ असोजमै मन्त्रिपरिषद्ले गरेको निर्णय करिब ९ वर्षपछि कार्यान्वयन भएको हो । उक्त निर्णय बमोजिम भौगोलिक रुपमा अत्यधिक दुरीमा रहेको र जिल्लाभरको काम एकै ठाउँमा हुँदा कामको चाप बढेर सेवाग्राहीले सहज रुपमा सेवा पाउन नसकिरहेको अवस्थालाई मध्यनजर गरी जिल्लाको उत्तरी–पश्चिमी भेगका नागरिकका लागि ढल्केवरमा दुई वटा कार्यालयको सेवा केन्द्र सञ्चालन गरिएको हो ।
२०७२ सालमा तत्कालिन नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेपछि २०७३ माघ महिनामा नापी कार्यालयको सेवा केन्द्र ढल्केवरमा सञ्चालन भयो । तर, मालपोत कार्यालय भने विभिन्न कारण देखाउँदै सञ्चालनमा ढिलाई हुँदै आएको थियो । गत साउन महिनादेखि मालपोत कार्यालयको ढल्केवर सेवा केन्द्र सञ्चालनका लागि विभिन्न राजनीतिक दलनिकट स्थानीय नेता, कार्यकर्ताहरुले दबाव सुरु गरेपछि प्रक्रिया अघि बढेको थियो । सोही अनुरुप गत फागुन २६ गते अर्जुन मण्डललाई ढल्केवर मालपोत सेवा केन्द्रको प्रमुखको रुपमा नियुक्त गरी सरकारले पठाएको थियो ।
सेवा केन्द्रको प्रमुखसँगै ११ जना कर्मचारीलाई नियुक्त गरेर जिम्मेवारी तोकिएपनि काम सुरु हुनेगरी आवश्क श्रेष्ता लगायत कागजात उपलब्ध नगराउँदा ढिलाई भइरहेको थियो । यसबीच सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो र मिथिला नगरपालिका प्रमुख महेन्द्र महतो लगायत सरोकारवालाको विशेष प्रयासमा शुक्रबार दुवै कार्यालयको संंयुक्त उद्घाटन सम्भव भएको स्थानीयले बताए ।
नगर प्रमुख महतोले नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य आनन्द प्रसाद ढुंगाना र पुर्व मन्त्री महेन्द्र यादवको विशेष सहयोगमा दुवै कार्यालय तत्काल सञ्चालनमा ल्याउन सफल भएको बताए ।
कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य ढुंगानाले सात दशक अघिदेखि नेपाली नागरिकले गरेको संघर्ष र बलिदानीको प्रतिफलको रुपमा सदरमुकाम पुगेर पाउने सेवा आज गाउँमै उपलब्ध भएको बताए । ‘निरंकुश राणा शासनको अन्त्य र पछि पञ्चायती व्यवस्था विरुद्ध ठूलो बलिदानी र संघर्षको प्रतिफल हो आज गाउँमै मालपोत र नापी आएको’ उनले भने, ‘हामीले संघर्ष गरेर व्यवस्था बदल्यौँ अब सबै जना मिलेर अवस्थामा सुधार गरौं ।’
पुर्व मन्त्री महेन्द्र यादवले विकासका लागि भिजन भएका नेतालाई जनप्रतिनिधिको रुपमा चयन गर्न सकिए नागरिकको हितमा धेरै काम सम्भव रहेको बताए । उनले भने, ‘तीन दशक अघि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँमा मेलम्चीको पानी ल्याउने कुरा गर्दा धेरैले मजाक बनाए । आज सम्भव भयो । त्यसैले दुरदर्शी सोच भएका नेताको पक्षमा नागरिकले साथ दिए धेरै परिवर्तन गर्न सकिन्छ ।’
तस्बिर सौजन्यः दिनेश महतो