मधेश विश्वविद्यालयमा बेथितिः मुख्यमन्त्रीले भने, ‘तत्काल सुधारका लागि पहल गर्छु’

संजय झा, जनकपुरधाम । मधेश विश्वविद्यालयमा कानून पढ्ने विद्यार्थीहरुले त्यहाँको बेथितिको चाङ लिएर मुख्यमन्त्री जितेन्द्र सोनललाई भेट्न जनकपुर आएका छन् । अध्ययन अध्यापनको वातावरण नरहेको विश्वविद्यालयको गरिमा जोगाउनकै लागि पनि मुख्यमन्त्रीलाई ‘एक्शन’ लिइदिन विद्यार्थीहरुले आग्रह गरेका हुन् ।

वीरगंजस्थित मधेश विश्वविद्यालयमा कानून संकायका विभिन्न सेमेष्टरमा अध्ययनरत ती विद्यार्थीहरुले विश्वविद्यालयका कुलपतिको हैसियतमा मुख्यमन्त्री सोनललाई भेटेर समस्याको वारेमा अवगत गराएको मुख्यमन्त्री कार्यालय सचिवालयका सदस्य रमेश सर्राफले न्यूजआजलाई जानकारी दिए ।

विद्यार्थीको गुनासो सुन्दै मुख्यमन्त्री सोनल

विश्वविद्यालयमा सम्बन्धित विषयमा ज्ञानै नभएका कर्मचारीहरुलाई भर्ना गरिएको, उपकुलपति र रजिष्ट्रारले विश्वविद्यालयमा समय नदिएको, हेलमेट शिक्षकको भरमा विश्वविद्यालय सञ्चालन भइरहेको, छात्रालाई सौचालय सुविधा नदिएको लगायत समस्या विद्यार्थीहरुले मुख्यमन्त्री सोनल समक्ष प्रस्तुत गरेका थिए ।

जवाफमा मुख्यमन्त्री सोनलले शनिबारसम्म आफू सैद्धान्तिक प्रक्रियामा व्यस्त रहेको हुँदा यो प्रक्रिया सम्पन्न भए लगत्तै मधेश विश्वविद्यालयको समस्या समाधानका लागि पहलमा लाग्ने बताए । उनले विद्यार्थीहरुलाई विश्विद्यालयको साखै घट्नेगरी कुनै पनि निर्णय नलिन आग्रह गर्दै व्यवस्थापन पक्ष, सरकार र विद्यार्थी सबै मिलेर कमजोरीहरुलाई सुधार्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

Facebook Comments Box
    ट्याग: