नवपुस्ताको आक्रोश र विवेक

सुरेश यादव

गत भदौ २३ गते सरकारको काम, कारबाहीप्रति असन्तुष्टी जाहेर गर्दै शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका नवपुस्ता (जेनजी) का युवाहरुमाथि राज्यले गरेको दमन किमार्थ क्षम्य छैन । तर, त्यसको भोलिपल्ट बदलाको रुपमा होस् या थप आक्रोश पोख्ने सिलसिलामा आन्दोलनकारीहरुको तर्फबाट जे जस्तो गतिविधिहरु भए त्यो पनि सह्य छैन । मैले तपाईहरुको त्यो रबैया सह्य छैन भनिरहँदा तपाईहरुको आक्रोश थप चर्किन सक्छ । तर, मैले भन्न खोजेको विषयलाई थोरै गम्भीर भएर बुझिदिने प्रयास गर्नुभयो भने स्वयं तपाईहरुले आफैबाट भएका गतिविधिप्रति स्वयंले पश्चाताप गर्नुहुनेछ भन्ने लाग्छ ।

आज देशमा भ्रष्टाचार भयो । नागरिकप्रति राज्यको जवाफदेहिता देखिएन । सर्वसधारणलाई सेवा दिने सवालमा राज्यको तर्फबाट अनावश्यक ढिलासुस्ती भयो । समग्रमा राज्य अर्थात् सरकारले देश र जनताप्रति अपेक्षाकृत जिम्मेवारी वहन गरेन भन्दै हामी आक्रोसित भएका हौं । यति होइन त त्यो आन्दोलन र यतिसम्मको विध्वंसात्मक अवस्थामा पुग्नुको कारण ?

हिजो देशमा एकाध विद्यालय खुल्यो तर आमनागरिकका छोराछोरीलाई पढ्न पाउने अधिकार थिएन । खेती गर्नेहरुको स्वामित्वमा जग्गा थिएन । घर स्याहार्नेहरु घरवारविहीन थिए । अर्थात् अर्काको जग्गा जमिन र घर स्याहार्न मजदुरी गर्नुपर्ने तर आफ्नो भविष्य सुरक्षित गर्ने सवालमा सपना देख्न पनि बन्देज गरिएको थियो । राज्यबाट हुने दमनको विरोधमा विनम्रतापुर्वक पनि आवाज निकाल्न छुट थिएन जनतामा । त्यो बेला जनताको अधिकारका निम्ति बर्बर दमन सहेर संघर्ष गरेका तत्कालिन यूवाहरु जो आज सत्तामा छन्, थिए तिनीहरुलाई यतिसम्मको अमानवीय यातना दियौँ होइन त ? हो, भने भोली जिन अल्फाको पालामा (जतिबेला तपाईहरु अहिलेका राजनीतिक नेतृत्वको उमेरमा पुगेको हुनुहुनेछ) तत्कालिन व्यवस्थाप्रति असन्तुष्टी प्रकट भए तिनीहरुले पनि तपाईहरुलाई यस्तै यातना दिने सवालमा चित्त बुझेको छ ?

मेरो व्यक्तिगत विचारमा आएका कुराहरु जाहेर गर्दैछु । हो । मैले यो कुरा गर्दा तपाइहरुले कुनै दलको झोले भन्नुहोला । अग्रजको अनुभव र मेरो आधुनिक ज्ञान तथा सीपलाई संयुक्त रुपमा उपयोग गरे भविष्य सुन्दर हुने कुरामा विश्वास गर्ने व्यक्ति हुँ म । सायद मेरो यो सोंचभन्दा फरक तपाईहरुको पनि सोंच छैन रहेछ । त्यसैले त हजुरआमा उमेरकी सुशिला कार्कीलाई नेतृत्व गर्न आह्वान गर्नुभयो । तर, व्यवस्था सुधारको विषयमा अग्रसर हुँदा को प्रति किन कठोर भयौंँ भन्ने विषयमा पनि मन्थन गर्न आवश्यक छ । अझ, आज हाम्रो नजरमा गल्ती गर्नुहुने व्यक्तिको पृष्ठभूमि के हो । राज्य र हाम्रो अतितका लागि उहाँको कुनै योगदान छ कि छैन भनेर मनन गर्ने कि नगर्ने ?

मुलुकको सबैभन्दा ठूलो र पुरानो राजनीतिक पार्टीको नेतृत्व तहमा रहेकै आधारमा गगन थापाले अहिलेको आक्रोसलाई समयमा सम्बोधन गर्न नसकेको भन्दै बारम्बार क्षमायाचना गरिरहेका छन् । र, पुनः यस्ता भूल नदोहोर्याउने भन्दै आत्मालोचनासहित प्रतिबद्धता दोहोर्याइरहेका छन् । उनको र उनका पुस्ताका हामीलाई सहयोग गर्न चाहनेहरुको भावना हामीले बुझ्नै नसक्ने हो र ?

मलाई लाग्छ, जेनजीको स्वभाविक आक्रोस पोख्ने क्रममा हामीलाई साथ दिएको जस्तो नाटक गरेर हाम्रो विवेकमाथि प्रश्न उठ्नेगरी आफ्नो रोटी सेक्न उद्धत भएकाहरुको पहिचान गरौँ । हो, यतिबेला आइपरेको राजनीतिक शून्यताको निकास दिनु पहिलो कर्तव्य हो । यस कार्यमा पनि हामीले आफ्नो विवेकको उपयोग गरौँ । र भविष्यमा समेत यो ऐतिहासिक आन्दोलनको विषयलाई गर्व गर्ने र गरिरहन सक्ने अवस्था कायम राख्न विगतको परिस्थितिलाई समिक्षा गर्दै सुन्दर देश नेपाल निर्माणको अभियानमा सबै पुस्ताको साथ लिँदै र समन्वय गर्दै अघि बढ्ने प्रण गरौँ । अहिले तपाईहरुको सामु विद्यमान चुनौतिलाई सम्मानपुर्ण ढंगले सामना गर्ने सामथ्र्य प्राप्त होस्, शुभकामना ।

Facebook Comments Box
    ट्याग: