सुशासनका लागि गृहमन्त्री लेखीको अग्रसरता

जनकपुरधाम । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले प्रदेशमा सुशासन प्रबद्र्धनका लागि सुशासन सम्मेलन आयोजना गर्न लागेको छ ।

प्रदेश सरकार तथा मातहतका जनसरोकारका निकायहरुमा सुशासन अभिवृद्धिका लागि यो सम्मेलन आयोजना गर्न लागिएको मन्त्री राजकुमार लेखीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका हुन् ।

‘मधेश प्रदेशमा सुशासनलाई सुदृढ बनाउन नवीन विचार, अनुसन्धान र व्यवहारिक ज्ञानहरुमा छलफल गर्नु सम्मेलनको मुख्य उदेश्य हो’ मन्त्री लेखीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यो सम्मेलन मधेश प्रदेशको समृद्धि र सुशासनका लागि कोसेढुंगा हुनेछ ।’

सुशासनका प्रमुख पाँच विषयवस्तुलाई सम्मेलनको आधार मानिएको छ । सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाफदेहिता, नागरिक सहभागिता र संलग्नता, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, कानूनी शासन र न्यायिक स्वतन्त्रता तथा नैतिक नेतृत्वको सवालमा सम्मेलनले मुख्य बहसको विषय बनाउने छ ।

अगामी असोज २ र ३ गते जनकपुरमा आयोजना हुन लागेको सम्मेलनका लागि अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व, नीति निर्मातालगायत सरोकारवालाहरुलाई सहभागी भई आफ्ना अनुसन्धान र प्रस्तूतिका लागि आह्वान गरिएको छ । उनीहरुलाई भदौ १४ गतेसम्म तीन सय शब्दमा आफूले प्रस्तूत गर्न चाहेको कार्यपत्रको सार लेखेर पेश गर्न भनिएको छ ।

Facebook Comments Box