जनकपुरमा रेलगाडीले कारलाई किच्यो, आफ्नै मृत्यु हेर्दाहेर्दै जोगिए चालक

जनकपुरधाम । जनकपुरस्थित थापाचोकदेखि प्रदेश प्रहरी कार्यालयतर्फ जाने बाटोमा रेलवे लाइन पार गरिरहेको एउटा कारलाई रेलगाडीले किचेको छ ।

आइतबार बिहान करिब ८ः४५ बजेको समयमा कुर्थाबाट जनकपुरतर्फ आउँदै गरेको शाकुरबस्ती १७८३१५ नामक भारतीय रेलगाडीले बागमती प्रदेश ०१–०२५च १२९० नम्बरको टाटा कारलाई किचेको हो । घटना मानवीय क्षतिबाट भने जोगिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी बरुण सिंहले जानकारी दिए ।

थापा चोकदेखि प्रदेश प्रहरी कार्यालयतर्फ गुडिरहेको कार रेलवेलाइनमा अड्किएको थियो । लगत्तै कुर्थातर्फबाट जनकपुर रेलवे स्टेशनतर्फ गुडिरहेको रेलगाडीले भेटाइहाल्यो । रेलगाडीको अगाडीको भागले कारलाई झण्डै २०–२५ मिटरजति धकेलेर घिसार्दै लग्यो । सो क्रममा कारको चालक बस्ने ढोकालाई रेलगाडीले च्यापेको थियो । कारमा व्यापक क्षति पुगेपनि चालक भने जोगिएका छन् ।

कतिबेला कार रेलगाडीको पाङ्ग्रामुनि पर्ने हो ठेगान नभएको बेला रेलगाडीको धक्काले घिस्रिदै गरेको कारका चालक भने मृत्युलाई पर्खिरहेका थिए । रेलगाडीमा ब्रेक लगाउँदा लगाउँदै करिब २० मिटरसम्म धकेलिसकेको थियो । रेल रोकेर थोरै ब्याक गर्ने बित्तिकै चालकले ढोका खोलेर टाउको समात्दै अस्पतालतर्फ दौडेको प्रत्यक्षदर्शीले जनाए ।

रेलवे लाइन नजिकै रहेको हिरा अस्पतालमा कार्यरत एक जना डाक्टर चढ्ने कार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनायो । प्रहरीको अनुसार कारमा तीन जना सवार रहेका थिए ।

Facebook Comments Box
    ट्याग: