आज गाईजात्रा, काठमाडौं उपत्यकामा विदा

काठमाडौं । आज भाद्र कृष्णपक्ष प्रतिपदा । आजैको दिनदेखि आठदिनसम्म काठमाडौंमा गाईजात्रा मनाइन्छ । यस अवसरमा आज एकदिनका लागि नेपाल सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

पछिल्लो एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा मनाइने पर्व हो गाईजात्रा । गाई वा मानिसलाई गाईकै रुपमा सजाएर आफ्नो क्षेत्रमा परिक्रमा गराउने र श्रद्धालुहरुले तिनलाई दूध, फलफुल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाएर वैतरणी पार हुने धार्मिक विश्वास रहेको छ ।

तत्कालिन राजा प्रताप मल्लले पुत्रशोकमा विह्वल आफ्नी रानीलाई संसारले यस्तो शोक व्यहोर्नु परिरहेको देखाउन आ आफ्नो परिवारका दिवंगत भएका व्यक्तिहरुको सम्झनामा गाईजात्रा निकालेर शहर परिक्रमा गराउन आज्ञा दिएको आधारमा यो पर्वको सुरुवात भएको हो । त्यतिले पनि रानीको मन शान्त नभएपछि विभिन्न प्रहसन र व्यंग्यात्मक कार्यक्रम गराउने आदेश दिएका थिए, त्यस उपरान्त गाईजात्रा एक व्यंग्यात्मक कार्यक्रमको रुपमा निरन्तर मनाउन थालिएको बताइन्छ ।

राजा प्रताप मल्लको पालादेखि सुरु भएको गाईजात्रा अहिले पनि काठमाडौंको हनुमान ढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा कायम रहेको देख्न सकिन्छ ।

Facebook Comments Box
    ट्याग: