‘पत्रकार साहमाथि होइन पत्रकारितामाथि दमन भयो’

राहुल साह, न्यूजआज । महोत्तरीको जलेश्वरमा पत्रकार दिवाकर साहमाथि भएको आक्रमणलाई ‘पत्रकारितामाथिको आक्रमण’ भन्दै मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले विरोध जनाएका छन् ।

सोमबार मध्यराति समाचार संकलन गर्न पुगेका पत्रकार साहमाथि जलेश्वरस्थित भौतिक पूर्वाधार विकासको कार्यालयमा आक्रमण भएको थियो । राति करिब एक बजेको समयमा कानुन विपरित काम भइरहेको सूचना पाएर त्यहाँ पुगेका पत्रकार साहमाथि कर्मचारीले आक्रमण गर्दा सुरक्षामा खटेको प्रहरी मुकदर्शक बनेको थियो ।

पत्रकार साहले मध्यराति प्रत्यक्ष प्रसारणको माध्यमले घटनालाई सार्वजनिक गरेका थिए । उक्त भिडियो हेर्दा सुरक्षाको संकटमा परेका पत्रकार साहलाई प्रहरीले समान्य बचाउ गर्न पनि अग्रसरता नदेखाएको प्रष्ट बुझिन्छ ।

‘सुशासनका लागि पत्रकारले आफ्नो ज्यानलाई जोखिममा राखेर समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले सुरक्षा दिनुपर्नेमा मुकदर्शक बनेको देखिन्छ’ यादवले भने, ‘समाचार संकलन गर्न पुगेका पत्रकारमाथि आक्रमण गर्ने हरेक व्यक्ति र कर्मचारी दोषी हुन् ।’ घटनाको सुक्ष्म अनुसन्धान गरी दोषी उपर कारबाही हुनुपर्ने उनले बताए ।

‘कोही पत्रकारले लेखेको समाचारका कारण नकारात्मक असर परे न्यायका लागि पर्याप्त आधार हुँदाहुँदै कानुनलाई हातमा लिएर पत्रकारमाथि दमन गर्नु कदापि सह्य हुँदैन’ मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष यादवले भने । उनले पितपत्रकारिताबाट जोगिन सञ्चारकर्मीलाई र स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप नगर्न अन्य सबै पक्षलाई आग्रह गरे ।

यादवले पत्रकार साहलाई भेटेर आफ्नो ज्यानको सुरक्षालाई प्राथमिकतामा राखेर पत्रकारिताको धर्म निर्वाह गर्न आग्रह गरे । त्यस्तै, महोत्तरीका प्रहरी प्रमुखलाई घटनावारे सुक्ष्म रुपमा अध्ययन गर्न माग गरेका छन् ।

Facebook Comments Box
    ट्याग: