मधेश प्रदेशका पूर्व राज्यमन्त्री पक्राउ

जनकपुरधाम । मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला राज्यमन्त्री एवं सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्थित अनामनगरबाट प्रदेश सांसद कुशवाहालाई पक्राउ गरेको हो । उनको जनकपुरस्थित घरमा आयोगले जेठ १२ गते छापा मारेको थियो । सोही दिन उनका स्वकीय सचिव विनोद लाल कायस्थलाई आयोगले पक्राउ गरेको थियो ।

विकास निर्माण सम्बन्धी केही योजना सञ्चालन क्रममा अनियमितता गरेको भन्दै उनी विरुद्ध आयोगमा उजुरी परेको थियो । अनुसन्धानको क्रममा आयोगले उनको स्वकीय सचिवलाई पक्राउ गरेको थियो । बिहीबार पूर्व राज्यमन्त्री समेत रहेका सांसद सिंहसमेत पक्राउ परेका हुन् ।

सिंह जसपा नेपालका नेता हुन् । जसपाकै तर्फबाट उनी प्रदेश सरकारको पहिलो कार्यकालमा पाँच वर्षसम्म आन्तरिक मामिला राज्यमन्त्रीको पदमा वहाल रहेका थिए ।

दुई दिन अघि मात्रै पूर्व निर्माण व्यवसायी समेत रहेका एमाले प्रदेश सांसद दिपेन्द्र ठाकुर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेषमा मुद्दा दर्ता भए लगत्तै एमाले प्रदेश संसदीय दलका उपनेता समेत रहेका ठाकुरको पद निलम्बनमा परेको छ ।

Facebook Comments Box
    ट्याग: