जनकपुरमा खाद्य स्वच्छता दिवसः कसले के भने ?

जनकपुरधाम । शनिबार अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइएको छ । सोही अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रदेश कार्यालयले जनकपुरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले भारतीय बजारबाट भन्सार छलेर ल्याइने उपभोग्य वस्तुले स्थानीय बजार छोपिएको बताए । ‘भारतीय बजारबाट तस्करी गरी ल्याइएका दैनिक उपभोग्य वस्तुले स्थानीय उत्पादन तथा भन्सार तिरेर ल्याइने सामान ओझेलमा परेको छ’ अध्यक्ष भण्डारीले भने ।
प्रहरी प्रशासनले नियन्त्रण गर्न नसक्दा भारतीय बजारबाट भन्सार छलेर ल्याइएका सामानको बिगबिगी रहेको उल्लेख गर्दै भण्डारीले थपे, ‘पसलेलाई यस्ता सामान नबेच्न र उपभोक्तालाई खरिद नगर्न आग्रह गर्छु ।’
जनकपुरधाम उपमहानगरपालिकाले साथ नदिँदा आफू निर्वाचित भएको नौ महिना बितिसक्दा पनि सटरभाडाको लिमिटेशन तोक्न नसकिएको उनले गुनासो गरे । जनकपुरको बजार सफाई तथा सौन्दर्यकरण गर्न पनि वाणिज्य संघ अग्रसर रहेको तर उपमहानगरपालिकाको कमजोरीले कार्यान्वयन हुन नसकिरहेको उनको भनाई थियो ।
कानुन पढ्ने विद्यार्थी रोशनी यादवले कार्यक्रममा वितरण गरिएको डिडिसीको मही प्याकमा देखिएको लापर्वाही उजागर गरेकी थिइन् । जवाफमा दूध विकास संस्थान (डिडिसी) का प्रतिनिधि नन्दकिशोर चौधरीले प्रिन्ट मिस्टेक भएको स्वीकार गर्दै आजपछि सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उपभोक्ता हित संरक्षण मञ्चकी केन्द्रीय सदस्य सुभाद्रा आलेले खाद्य सुरक्षा तथा स्वच्छताको सवालमा व्यवसायी र उपभोक्तामा जनचेतना फैलाउने एवम् नियमित बजार अनुगमनको काममा सक्रियता बढाउन आयोजकलाई आग्रह गरिन् ।
मञ्चका धनुषा जिल्ला अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झाले बजार अनुगमनको काममा स्थानीय सरकार, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई प्रभावकारी समन्वयका साथ तत्परता देखाउनुपर्ने बताए । यस कार्यमा आफ्नो तर्फबाट उचित सहयोग र सहकार्य गर्न उनले तत्परता देखाए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हस्तबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रालिका सरोज कोइराला, मौरीपालक महासंघका प्रदेश अध्यक्ष रतनदास खतिवडालगायत उपस्थित थिए ।
साताव्यापी कार्यक्रमको पहिलो दिन १ जुनमा व्यानर टाँस र सरसफाई गरिएको थियो । दोस्रो दिन विद्यार्थीहरुसँग विद्यालय स्तरीय जनचेतना कार्यक्रम आयोजना गरियो । तेस्रो दिन खाद्य स्वच्छताको आधारमा होटल लोगो, स्तरीयकरण तथा नविकरण अभिमुखिकरण कार्यक्रम आयोजना गरियो ।
चौथो दिन, दूध तथा दुग्धजन्य पदार्थ र प्रशोधित पिउने पानी उद्योगको अनुगमन गरियो । पाँचौ दिन, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीको सहकार्यमा खाद्य पदार्थ तथा गुणस्तर सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया आयोजना गरिएको थियो ।
छैंठौ दिन धनुषाको मिथिला नगरपालिकास्थित जनता मावि नक्टाझिजमा खाद्य स्वच्छता, रंगको प्रयोग, खाद्य पदार्थमा सिधा सम्पर्कमा आउने कागजको प्रयोग र पोषण सम्बन्धी चेतनामुलक कार्यक्रम आयोजना गरियो ।


