मधेश प्रदेशका ६४ निर्वाचन क्षेत्रमा एकै पटक सडक शिलान्यास हुँदै

जनकपुरधाम । मधेश प्रदेश सरकारले आठ जिल्लाका ६४ वटै निर्वाचन क्षेत्रमा एकैपटक सडक शिलान्यास गर्दैछ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट ती सडकहरुको शिलान्यास एकै पटक डिजिटल प्रविधिबाट गर्न लागिएको भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले जानकारी दिए ।

तीन आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुनेगरी बहुवर्षीय खरिद गुरुयोजनाहरु चालु आर्थिक वर्षमा स्वीकृत गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको मन्त्री यादवले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे । भोली (आइतबार) जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको सभाहलबाट प्रधानमन्त्री ओलीले आठवटै जिल्लामा आठवटाको दरले ६४ वटा सडक शिलान्यास गर्ने तयारी भएको उनले बताए ।

प्रदेश सरकारले पक्की सडकसँग नजोडिएका २१ वटा स्थानीय तहका केन्द्रलाई पक्की सडक सञ्जालसँग जोड्न विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सञ्चालन गरिसकेको मन्त्री यादवले जानकारी दिए । उनले यस कार्यक्रमबाट १९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३२६ किलोमिटर वृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार गरने बताए ।

प्रदेश सरकारले पहिलो चरणमा सञ्चालन गरेको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगतसमेत निर्माण कार्य बाँकी रहेका १२० किलोमिटर सडकको निर्माण कार्यलाई पनि अगामी आर्थिक वर्षसम्ममा पुर्णता दिलाउने योजना रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव संजय प्रसाद साहले जानकारी दिए ।

Facebook Comments Box
    ट्याग: