प्रदेश सांसद सरोजको पद धरापमा

जनकपुरधाम । मधेश प्रदेशसभाका सदस्य सरोज सिंह कुशवाहाको सांसद पद धरापमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वकीय सचिव विनोद कायस्थलाई नियन्त्रणमा लिएपछि कुशवाहाको पद धरापमा परेको हो ।
आयोगले सोमबार प्रदेश सांसद कुशवाहाको घरमा छापा मारेको थियो भने उनले प्रयोग गर्ने मोबाइल लगायत केही विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ । लगत्तै उनका स्वकीय सचिव कायस्थलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाइएको छ ।
कुशवाहाले संसदीय क्षेत्र विकास कोषमार्फत प्राप्त गरेको विकास बजेटको दुरुपयोग गरेको अभियोग लागेपछि छानबिनको क्रममा आयोगले उनको मोबाइलसमेत स्वकीय सचिवलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
उपभोक्ता समितिबाट कमिशन लिएर स्वकीय सचिव कायस्थको खातामा जम्मा भएको रकम सांसद कुशवाहा र उनका आफन्तको नाउँमा रहेको खातामा समेत पुगेको प्रारम्भिक अनुसन्धानको क्रममा फेला परेको आयोगका प्रतिनिधिले न्यूजआजलाई जानकारी दिएको छ ।
सांसद कुशवाहामाथि लागेको अभियोग पुष्टी भए आयोगले कारबाहीको लागि विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने र त्यो भए लगत्तै उनी पदबाट तत्काल निलम्बनमा पर्ने ती प्रतिनिधिले जानकारी दिए ।


