रेडक्रसको सेवा ‘पेशा’ बन्दा गरिबको पेशा ‘सेवा’

जनकपुरधाम । पूर्ण सेवाको भावनाले गठित एवम् संगठित भएको नेपाल रेडक्रस सोसाइटीको जनकपुरस्थित भवन अगाडी देखिएको यो तस्बिरले केही सन्देश दिइरहेको छ ।
मधेश यस्तो भूमि हो, जहाँ जाडोमा अत्यधिक जाडो र गर्मीमा अत्यधिक गर्मी हुन्छ । जाडोयाममा ‘कठ्यांग्रिएर ज्यान गएको’ तथा गर्मीमा ‘लु लागेर मृत्यु’ भन्ने समाचार छापा तथा विद्युतीय सञ्चार माध्यमहरुको लागि समान्य विषय हो ।
जेठको दोस्रो साता यतिबेला मध्यपूर्वी मधेशमा पर्ने जनकपुर क्षेत्रमा गर्मी खपी नसक्नु हुन्थ्यो, अहिलेको जस्तो नियमित रुपमा वर्षा भइनरहेको भए । ज्यानमारा गर्मीको सम्भावित असरबाट मानवीय क्षति हुन नदिन यो बेला नेपाल रेडक्रस सोसाइटीले पूर्वतयारी अवस्थामा बस्नु पर्ने हो । तर, यो तस्बिरले के देखाइरहेको छ भने सेवा भावको त्यो कार्यालय भवनमा ताला झुन्डिएको छ ।
ठीक त्यहीँ समय गर्मीको ताप सहन नसकेर रुखको शीतल छहारीमा बसेर आराम गर्नुपर्ने यी वृद्ध महिला पेटको भोक मेट्ने जोहोमा तल्लिन छिन् । र, गर्मीको बेला सानो भएपनि राहत दिने बेना (हातेपंखा) बेच्न बस्ती तर्फ उन्मुख देखिन्छिन् ।
यो तस्बिरले के देखाउँछ भने सर्वसधारणलाई दैवी प्रकोपको प्रभावबाट जोगाउन खटिरहनुपर्ने सोसाइटी ताला झुन्ड्याएर सुतिरहेको छ । रुखको छहारीमा आराम चाहिएकी वृद्धा भने सर्वसधारणलाई वैकल्पिक राहतको जोहोमा लागेकी छिन् ।


