अध्यात्मिक–क्रान्तिकारी पत्रकारको स्मृतिमा ध्यान–योग

जनकपुरधाम । अध्यात्मसाधक एवम् क्रान्तिकारी पत्रकार रविन्द्र साहको स्मृतिमा ध्यान–योग सप्ताह आयोजना गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका –२३ का वडा अध्यक्ष राघवेन्द्र साहको अगुवाईमा आयोजित सप्ताह मंगलबार सम्पन्न भएको हो ।

डायमण्ड वल्र्डवाइड (ट्रेनिङ इन्ष्टिच्यूट) ले को प्राविधिक सहयोगमा जनकपुरधाम उपमहानगरपालिका –२३ वडा कार्यसमितिले आयोजना गरेको ध्यान–योग सप्ताहमा स्थानीय प्राध्यापक, शिक्षक, राजनीतिकर्मी, सामाजिक कार्यकर्ता, सञ्चारकर्मी तथा कर्मचारीहरुको सहभागिता थियो ।
बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गरिएको ध्यान–योग कार्यक्रममा योगा इभ्यालुएटर जगदिश ठाकुरले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सञ्चारकर्मी सुरेश यादवले संयोजन गरेको सप्ताहमा महेन्द्र शर्माले सहायक प्रशिक्षकको जिम्मेवारी सम्हाले ।
मानवीय जीवनको मूल्य समाजमा स्थापित गर्नुका साथै दैनिक जीवनशैली रुपान्तरणका लागि ध्यान–योगको अतुलनीय भूमिका रहेको वडा अध्यक्ष साहले जानकारी दिए । ‘विकास निर्माणको काम त सँधै हुँदै आएको छ र भइरहनेछ । तर, समाज रुपान्तरण अहिलेको आवश्यक्ता हो जो यो माध्यमको विकल्प मैले देखिरहेको छैन’ साहले भने ।
ध्यान–योगले व्यक्तिको अनुशासन, आहार–विहारसँगै जीवनशैलीमा परिवर्तन ल्याउने प्रमुख प्रशिक्षक ठाकुरले उल्लेख गरे । ‘ध्यान भए हरथोक उपलब्ध हुने, नभए केही छैन’ ठाकुरले भने, ‘योगः कर्मशुः कौशलम् अर्थात् योगले कर्ममा कुशलता प्रदान गर्दछ । अतः योगलाई जीवनपद्धतिसँग जोड्न मेरो आग्रह छ ।’

