श्रवण मिश्रसहित विरुद्ध मुद्दा दायर, एक अर्बभन्दा बढी विगो दावी

जनकपुरधाम । मधेश प्रदेशस्थित जनस्वास्थ्य प्रयोगशालामा आवश्यक्ताभन्दा बढी उपकरण खरिद गरेको र मिलेमतोमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन निर्देशक डा. श्रवण कुमार मिश्रसमेत १५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कसुर तथा सजाय र विगो मागको आधारमा पाँच भागमा विभाजित गरी ती अभियुक्तहरुको विरोधमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
मिश्र विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय (क), (च) र (ञ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम कैद र विगो बमोजिमको जरिवाना गरी विगो असुल उपर हुन माग गरिएको छ । आयोगले मिश्रबाट २१ करोड ८९ लाख ३९ हजार ७६० रुपैयाँ विगो र सोही बमोजिम जरिवाना असुलको माग गरेको हो ।
त्यस्तै, मधेश प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास र वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साहविरुद्ध संयुक्त रुपमा २१ करोड ८९ लाख ३९ हजार ७६० रुपैयाँ विगो र सोही बमोजिम जरिवाना असुल तथा कैदको माग गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, ल्याब टेक्नोलोजिष्ट मनमोहन मिश्र र रामउदगार यादव विरुद्ध पनि संयुक्त रुपमा २१ करोड ८९ लाख ३९ हजार ७६० रुपैयाँ विगो र सोही बमोजिम जरिवाना असुल तथा कैदको माग गरिएको छ ।

सोही प्रयोगशालाका माइक्रोवायोलोजिष्ट जितेन्द्र कुमार साह, अमरेन्द्र कुमार मिश्र, प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट दिपेन्द्र कुमार मिश्र, ल्याब असिस्टेन्ट रमेश कुमार मण्डल, लेखा अधिकृत अमरदिप महतो, ल्याब असिस्टेन्ट कर्मशील गोप र वरिष्ठ ल्याब अधिकृत उमेश चौधरी विरुद्ध पनि संयुक्त रुपमा २१ करोड ८९ लाख ३९ हजार ७६० रुपैयाँ विगो र सोही बमोजिम जरिवाना असुल तथा कैदको माग गरेको छ ।

आयोगले हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. काठमाडौं तथा उक्त कम्पनीका सञ्चालक विशाल पण्डित विरुद्ध पनि सोही बराबर २१ करोड ८९ लाख ३९ हजार ७६० रुपैयाँ विगो र सोही बमोजिम जरिवाना असुल एवम् कैद सजाय माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको पौडेलले जनाए ।

Facebook Comments Box