शिक्षकमाथि दमन ! ‘सरकार तँलाई पाप लाग्छ’

दुनियाँ देशमा के भइरहेको छ मलाई थाहा भएन । मेरो देशमा पनि कक्षा कोठामा छडी (लट्ठी) निषेध गरिएको छ, यो ठीक हो कि बेठीक भन्ने बहसतर्फ अहिले केन्द्रित हुन चाहिनँ । तर, यति भन्छु कि जहिलेसम्म शिक्षकले लट्ठी देखाएर बालबालिकालाई अनुशासन सिकाए त्यो बेलासम्म सामुदायिक विद्यालयमा पढाइ भएन भन्ने गुनासो सुनिदैनथ्यो ।

सामुदायिक विद्यालयका सबै शिक्षक राम्रै वा नराम्रो भन्ने बहसमा पनि लाग्न चाहिनँ यतिबेला । प्रदर्शन सुरु गरेको २६ औं दिन आइतबार शिक्षक र प्रहरी झडप हुनपुग्यो । हिजो छोराछोरीसँगै नयाँ वर्ष मनाउन नपाएपनि प्रदर्शन गरिरहेका शिक्षकहरु आज कक्षा सञ्चालन गरिसक्नुपर्ने बेला पनि आफ्ना विद्यार्थीलाई पढाउन नपाउँदा भने आक्रोसित भएका छन् । यो मर्म सरकारले नबुझ्ने ?

एक दिन, दुई दिन होइन, हप्तौ बित्यो । महिना बित्न लागेको छ । वार्षिक परीक्षा सञ्चालन गरिसकेपछिको विदा मनाउन परिवारलाई समय दिन नपाएका शिक्षकहरु जब तोकिएको कर्तव्य पालना गर्न पाउने वातावरण मानेनन्, अनि आक्रोसित भए । शिक्षकको यो आक्रोस कसका लागि त ? यति पनि नबुझिदिने सरकार कसका सरकार हुन् ? कसका लागि सरकार हो ?
देशभरका शिक्षक काठमाडौं केन्द्रीत आन्दोलनमा होमिनु पर्ने कारण सरकारले नबुझेको हो र ? त्यसो हो भने बुझ्नुपर्यो नि त ! कि शिक्षकमाथि लाठी बर्साउने ?

संसारका सम्पन्न र समृद्ध मुलुकहरुमा शिक्षकलाई राज्यले गर्ने व्यवहार कस्तो हो भनेर यी सरकारका मन्त्रीहरुले अध्ययन नगर्ने ? शिक्षकलाई दमन गरी त्यहीँ शिक्षक, विद्यार्थी र तिनका अभिभावकको मत लिइसकेपछि दम्भ देखाउने सरकार खबरदार ! कि त यी शिक्षक शिक्षक होइनन् भनेर सबैको जागिर खोसिदेउ । नभए, शिक्षकले उठाएका जायज माग अबिलम्ब सम्बोधन गर । नभए सरकार तँलाई पाप लाग्छ, लाग्छ, लाग्छ । पर्खिबस् !

Facebook Comments Box
    ट्याग: