लिङ्देनलाई कारबाही माग्दै धनुषामा चक्काजाम

जनकपुरधाम । राजावादी आन्दोलनमा भाटभटेनी लुटपाट गर्ने घटनामा नेपाली कांग्रेस सहमहामन्त्रीका छोराको संलग्नता रहेको भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति विरुद्ध शनिबार धनुषामा चक्काजाम गरिएको छ ।
लिङ्देनले आफ्नो नेतृत्वमा भएको अपराध लुकाउन कांग्रेस नेतालाई बदनाम गर्न खोजेको भन्दै सहमहामन्त्री महेन्द्र यादवका समर्थकहरुले जनकपुर–ढल्केवर सडकको लक्ष्मिनियाँ चोकमा आधा घण्टा चक्काजाम गरी विरोध प्रदर्शन गरेका हुन् ।
लिङ्देनले होस् गुमाएर आधारहिन वक्तव्य दिएको र जनकपुरका केही सञ्चारमाध्यमले हुँदै नभएको पात्रको नाम उल्लेख गरेर कांग्रेस नेताको चरित्रसँग खेलवाड गर्ने दुस्साहस गरेको प्रदर्शनकारीहरुको भनाइ थियो । ‘नैतिकहिन नेताले बोलेको आधारहिन वक्तव्यलाई अझ बंग्याएर कपोलकल्पित समाचार लेख्ने कथित पत्रकारलाई पनि कारबाही हुनुपर्छ’ कांग्रेस प्रदेशसभाका प्रमुख सचेतक समेत रहेका नेता कुमरकान्त झाले भने ।
उनीहरुले भ्रामक वक्तव्य र कथित समाचारलाई खण्डन गर्नुका साथै कानुन विपरित बोल्ने र लेख्नेलाई कडा कारबाहीको माग गर्दै सांकेतिक चक्काजाम गरेका हुन् । ‘जनता र सडक हिँड्ने यात्रुलाई दुःख दिने हाम्रो नियत होइन, यस्ता क्रियाकलाप गर्दैनौ पनि’ प्रदेश सदस्य बजरंग यादवले भने, ‘तर, प्रेस र वाक स्वतन्त्रताको नजायज फायदा लुट्नेहरुलाई कारबाहीका लागि दबाव सिर्जना गर्न आधा घण्टा चक्काजाम गरेका हौं ।’


कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारले आइतबार जिल्लाभरका नेता कार्यकर्तालाई पार्टी कार्यालयमा भेला हुन आह्वान गरे । अमर्यादित र अपराधिक वक्तव्यवाजीमा लागेका लिङ्देनलाई कारबाहीको माग गर्दै आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको पजियारले जानकारी दिए ।
विरोध प्रदर्शनमा नेपाली कांग्रेसका करिब पाँच सय नेता कार्यकर्ता सहभागी थिए ।