अपवाह फैलाउने समाचारप्रति सहमहामन्त्रीको आपत्ति

जनकपुरधाम । राजावादीको अनियन्त्रित प्रदर्शनको क्रममा भाटभटेनीमा भएको लुटपाटमा नेपाली कांग्रेसका सहमहामन्त्रीको छोराको संलग्नता भन्ने समाचारहरु विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । ती समाचारहरुप्रति सहमहामन्त्री महेन्द्र यादवले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

भाटभटेनी लुटपाटमा सहमहामन्त्रीको छोरा संलग्न रहेको भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आधारहिन अभिव्यक्तिलाई बढाइचढाई गरी जिम्मेवारी सञ्चार माध्यमहरुले गैरजिम्मेवार हर्कत गरिरहेको यादवको भनाई छ ।

‘कसले कहाँ कुन मनसायले के बोल्यो त्यसको जिम्मेवारी मैले लिनुपर्ने हो ?’ कांग्रेस सहमहामन्त्री यादवले न्यूजआजसँग भने, ‘एक त मर्यादित ओहोदामा बसेर अमर्यादित अभिव्यक्ति दिने व्यक्ति कस्ता नेता होलान् ? अर्को, त्यो विषयलाई समाचार बनाउने पत्रकार जस्ता जिम्मेवार व्यक्तिहरुले सत्यतथ्य बुझ्दै नबुझि के समाचार लेख्दा हुन् ?’

डा. आकाश र डा. विकास नाम भएका दुई जनामात्र छोराका पिता यादवले तेस्रो व्यक्ति मुकेश यादव भन्नेलाई आफ्नो छोरा भनेर सञ्चार माध्यमहरुले तथ्यहिन र भ्रामक समाचार सम्प्रेषण गरिरहेको बताए । उनले भने, ‘मेरा छोराहरु कति जना छन् ? नाम के हो ? हुलिया कस्तो छ ? यी विषयमा पत्रकारले सोधीखोजी नै नगरी समाचार सम्प्रेषण गर्न मिल्छ त ?’ यस्ता गैरजिम्मेवार सञ्चार माध्यमहरुलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग उनले आग्रह गरे ।

Facebook Comments Box
    ट्याग: