कांग्रेसका युवा नेता कर्णले बढाए सक्रियता

जनकपुरधाम । नेपाल विद्यार्थी (नेवि) संघका पूर्व केन्द्रीय अध्यक्ष रंजीत कर्णले नेपाली कांग्रेसको अगामी महाधिवेशन लक्षित सक्रियता बढाएका छन् ।
बुधबार जनकपुरमा पार्टीका धनुषा तथा महोत्तरी जिल्ला सभापतिहरु समेत नेवि संघबाट मूलधारको राजनीतिमा सक्रिय रहेका धनुषा, सिरहा, सप्तरी, महोत्तरी र सर्लाहीका नेताहरुसँग भेटघाट गरे । कर्णको अगुवाईमा आयोजित उक्त भेलामा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, महोत्तरी सभापति नागेश्वर यादव, सर्लाहीका नेता विनोद खनाल, महोत्तरीका लवराजा सिंह, परमेन्द्र पाठक, धनुषाका दिनेश प्रसैला, गणेश झा, नवलकिशोर यादव, संजय यादवलगायत सिरहा र सप्तरीका नेताहरुको सहभागिता थियो ।
जेठ महिनादेखि राष्ट्रव्यापी यात्रामा निस्किने योजनामा रहेका संविधानसभा सदस्य कर्णले पार्टीको अगामी महाधिवेशनमा महामन्त्री लड्ने बुझिएको छ । यस अघि उनी सहमहामन्त्री पदमा चुनाव लडेका थिए ।
जेठमा मटिहानीबाट जलेश्वरहुँदै जुम्लासम्मको यात्रा तय गर्ने योजना रहेको उनी निकट पार्टी महासमिति सदस्य डा. धिरेन्द्र साहले जानकारी दिए । डा. साहका अनुसार जलेश्वरबाट जुम्लासम्मको यात्रामा विभिन्न १७ स्थानमा होल्ड गरिनेछ ।
बुधबार जनकपुरमा गरेको भेटघाट कार्यक्रमलाई कर्णले अनौपचारिक भनेका छन् । २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने तत्कालिन युवा नेता तथा कार्यकर्ताहरुसँग अनौपचारिक रुपमा भेटघाट गरेको उनले बताए । नेता कर्णले यस्ता भेटघाट कार्यक्रमहरु अन्य नेता कार्यकर्ताहरुले पनि बेला, मौकामा आयोजना गरिरहनुपर्ने प्रस्ताव गरे ।
पार्टीका गतिविधि, कार्यकर्ताको समस्या, जनताको पीडा र अन्य समसामयिक विषयमा नियमित छलफल र विमर्श हुनुपर्ने उनको भनाई थियो । नेता कर्णले गणतन्त्रको विकल्प रोज्न जनता बाध्य नहोस् भन्नका लागि पार्टीका हरेक तह र तप्काबाट जिम्मेवारीपुर्ण अग्रसरता हुनुपर्ने बताए । उनले भने, ‘हामीले यो र त्यो समस्या देखाउने होइन । कसको के समस्या छ, पहिचान गरी तत्काल सम्बोधन गर्नेगरी नेतृत्व लिन हामी कांग्रेसीजन अग्रसर हुनसक्नुपर्छ ।’


