स्थानीय तहको विधायनमा उपसभामुखको सहयोग

जनकपुरधाम । प्रदेशसभाका उपसभामुखले स्थानीय तहको विधायन व्यवस्थापनमा आवश्यक सहयोग गर्न तत्परता देखाएका छन् । यसका लागि प्रदेशसभा र स्थानीय तहबीच आपसी छलफल, अन्तरक्रिया र सहकार्य गर्न सातै प्रदेशका उपसभामुखहरुले अग्रसरता देखाएका हुन् ।
बिहीबार जनकपुरमा आयोजित उपसभामुख सम्मेलनले सात बुँदे जनकपुर घोषणा पत्र जारी गर्दै उपसभामुखहरुको भूमिकालाई प्रभावकारी बनाउन छलफल गरेका हुन् । सम्मेलनमा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाकी उपाध्यक्ष, पूर्व उपाध्यक्ष तथा सातवटै प्रदेशसभाका उपसभामुखहरुको सहभागिता थियो ।
‘लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो’ उपसभामुख सम्मेलनले जारी गरेको घोषणापत्रमा भनिएको छ, ‘निष्ठापूर्वक संवैधानिक अभ्यासको माध्यमले मुलुकमा समृद्धि ल्याउन सकिन्छ । यसका लागि हामी प्रतिबद्ध रही अघि बढ्न सक्नुपर्छ ।’
प्रदेशसभालाई अझ प्रभावकारी बनाउन प्रदेशसभा नियमावली संशोधनका लागि पनि पहल गर्ने यो सम्मेलनले निर्णय गरेको छ । प्रदेशसभा बैठक सञ्चालनको क्रममा आकस्मिक समय, शून्य समय, विशेष समयको व्यवस्थापन, कार्ययोजना र कार्यतालिका निर्माणसँगै समितिले दिएको निर्देशन कार्यान्वयन अनुगमन लगायत विषयमा उपसभामुखको सक्रियता बढाउन छलफल गरेको छ ।
सम्मेलनमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे, पूर्व उपाध्यक्ष उर्मिला अर्याल, कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवार, मधेश प्रदेशसभाकी उपसभामुख बबिता कुमारी राउत, बागमती प्रदेशसभाकी उपसभामुख अपसरा चापागाईँ, गण्डकी प्रदेशसभाकी उपसभामुख विना कुमारी थापा, लुम्बिनी प्रदेशसभाकी उपसभामुख मेनुका खाँड, कर्णाली प्रदेशसभाकी उपसभामुख यशोदा न्यौपाने र सुदरपश्चिम प्रदेशसभाकी उपसभामुख कोइलीदेवी चौधरी सहभागी थिए ।
सम्मेलनले जारी गरेको घोषणापत्रः
जनकपुर घोषणापत्र २०८२
संघीय संसद र प्रदेश सभा सञ्चालन सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमका प्रथम देखि सातौं सम्मेलनको घोषणापत्र, अन्तर-व्यवस्थापिका मञ्चको पहिलो देखि दशौं घोषणापत्र तथा विगतमा भएका कार्यक्रमहरुको समीक्षा गर्दै प्रदेशका “उपसभामुखज्यूहरुको भूमिका तथा नीतिगत सुधारका सवालहरु” विषयमा सातवटै प्रदेशका मा. उपसभामुखज्युहरूको अनुभव आदानप्रदान कार्यक्रममाविभिन्न विषयहरुमा छलफल गरी संसदीय अभ्यासलाई अधिकतम प्रभावकारी बनाई सुशासन, विधिको शासन र समृद्धि प्राप्तिका लागि कृयाशील हुने प्रतिबद्धता व्यक्त गर्दै देहायका घोषणा गर्दछौं ।
१. सम्वैधानिक लोकतान्त्रिक प्रणाली उत्कृष्ट राजनैतिक ब्यबस्था भएकाले लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो भन्ने तथ्यलाई हृदंगम गरी सोही अनुरुपको निष्ठापूर्वक सम्वैधानिक अभ्यासबाट नै सम्बृद्धि प्राप्त हुने हुँदा यो सम्मेलन सम्बैधानिक गतिशिलताका निम्ति राजनैतिक क्षेत्र लगायत सम्बद्ध सबै पक्ष संविधानको सर्वोच्चता प्रति क्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गर्दछ,
२. प्रदेश सभालाई बढी प्रभावकारी बनाउन संसदीय अभ्यास भएका मुलूकहरुको असल अनुभवको आधारमा प्रदेशसभाको अधिवेशनको आब्हान र अन्त्यका निम्ति प्रदेश सभामुखको परामर्शमा गर्ने, सभामा छलफलका निम्ति समय ब्यबस्थापन गर्दा आकस्मिक समय, शुन्य समय, बिशेष समय(लैंगिकता, समावेशीकरण, अल्पसंख्यक र आफ्नो निर्वाचन क्षेत्रको समस्या उठाउने समय)को ब्यबस्था, कार्ययोजना र कार्यतालिका निर्माण र कार्यान्वयन, प्रत्यायोजित ब्यबस्थापन, सभा र समितिले दिएका निर्देशन कार्यान्वयनको अनुगमन जस्ता विभिन्न बिषयहरुलाई सम्बोधन गर्ने गरी प्रदेश सभा नियमावली संशोधनमा आवश्यक पहल गर्ने,
३. विश्व संसदीय अभ्यासको अनुभवको पृष्ठभूमिमा प्रदेश सभाका उपसभामुखको भूमिकालाई अझ शसक्त र प्रभावकारी बनाउन समितिहरुको समन्वय र सहजीकरण, कतिपय बिशेष प्रकृतिका समितिका सभापतिको भूमिका समेतरहने नियमावलीमा व्यवस्था गर्ने,
४. प्रदेश सभाले उपसभामुखको नेतृत्वमा स्थानीय तहको विद्यायन ब्यबस्थापनमा आवश्यक सहयोग पुर्याउन प्रदेश सभा र स्थानीय तहबीच आपसी छलफल, अन्तरकृया र सहकार्य गर्ने,
५. लैंगिकता, समावेशीकरण, अल्पसंख्यकका अधिकारको प्रचलन, सशक्तिकरण, लैंगिक बजेटको तर्जुमा र कार्यान्वयन जस्ता बिषयमा छलफल गरी आवश्यक सुझाव दिनप्रदेश सभाभित्र महिला समन्वय समितिको ब्यबस्था गर्ने,
६. प्रदेश सभा सचिवालयको संस्थागत क्षमता अभिवृद्धिका निम्ति सोही अनुसारको जनशक्ति, स्रोत साधनको सुनिश्चितता, प्रविधिमैत्री ब्यबस्थाको विकासमा सरकारलेपूर्ण सहयोग गर्नुपर्ने ।
७. उपसभामुखहरुकोयो सम्मेलन आपसी अनुभव आदनप्रदान गर्न उपयोगी महसुस भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने, साथै सभाको काम कारवाहीलाई सम्वृद्ब बनाउन असल अभ्यासहरुको अनुसरणका निम्ति प्रदेश सभाका पदाधिकारी बीच आवश्कता अनुसार समय समयमा छलफल, अन्तरक्रिया र परामर्शद्बारा अनुभव आदान प्रदान गर्ने।प्रदेश सभाका उपसभामुखहरुको सम्मेलन तथा अनुभव आदान प्रदान सम्बन्धी आगामी कार्यक्रम कोशी प्रदेश सभाले आयोजना गर्ने ।