आज जुडशितल र सिरुवा

अनिता यादव, जनकपुरधाम । वैशाख २ गते आज जुडशितल पर्व मनाइँदैछ । वर्षको पहिलो दिन सतुवाइन र दोस्रो दिन जुडशितल मनाउने हो । वैशाख १ गते सतु खाने परम्परा छ । दोस्रो दिन ठूलाको आशिर्वाद प्राप्त गरेपछि छपन्न व्यञ्जनसहितको सात्विक भोजन ग्रहण गरिन्छ ।
मिथिलामा परम्पराकालदेखि मनाइँदै आएको जुडशितलमा आफूभन्दा सानाको टाउकोमा बासी (ठन्डा) पानी छ्यापेर वर्षभरि शितल रहन आशिर्वाद दिइन्छ । यो पर्व नेपाल र भारतको मिथिलाञ्चलसँगै अन्य मुलुकहरुमा पनि बसोबास गर्ने मैथिली समुदायहरुमा मनाइन्छ ।
‘जुड’ शब्दको भाव ‘आशिर्वाद’ हुन्छ । ‘शितल’ भनेको ‘शितलता’ हो । यी दुई शब्द मिलेर बनेको जुडशितलको अर्थ आशिर्वाद भावले शितल पानी छ्याप्नु हो । यो पर्वमा ठूलाले आफूभन्दा सानालाई टाउकोमा शितल पानी खन्याएर आशिर्वाद दिने तथा सानाले आफूभन्दा ठूलाको खुट्टामा शितल पानी छ्यापेर आशिर्वाद ग्रहण गर्ने परम्परा रहेको छ ।
यो पर्वको दिन घर, आँगनसँगै बाग, बगैँचामा पानी छ्यापेर शितल बनाइन्छ । जुडशितलको मुख्य विशेषता भनेको ठन्डा खाना हो । रातिमै पकाएको खाना बिहान खाइन्छ । खानाको परिकारमा पनि शरीरलाई ठन्डा दिने सोहिजन (मुन्गा), लौका, फर्सीलगायत सबै प्रकारका हरियो सब्जी, करहीबडी (महीको करी) लगायत समावेश हुन्छ ।
यो पर्वको सम्बन्ध पर्यावरणसँग जोडिएको छ । पानीको महत्व, शितलता र शान्तिको कामना गरिने भएकाले पर्यावरण संरक्षणसँग यो पर्वको सम्बन्ध गाँसिएको बुझ्न सकिन्छ । यसले परिवार र समुदायबीचको सम्बन्ध कसिलो बनाउँछ । यसका साथै परम्परागत जीवनशैलीको निरन्तरता र जैविक विचारधारालाई जीवन्त राख्न यो पर्वले सहयोग पुर्याउँछ ।
थारु समुदायले सिरुवा पर्वको रुपमा यो दिनलाई विशेष रुपमा मनाउँछन् । तराई मधेशमा पासवान समुदायले सलहेश पूजा गरी मेला लगाउँछन् । धनुषाको अकौडा, टोकी, बल्टिया, सिरहाको सलहेश फुलबारी लगायत पासवान समुदायको बाहुल्य रहेका गाउँ ठाउँमा मेला लगाइएका छन् ।