जनमतको लागि २०८२ ‘अवसर र चुनौति’

जनकपुरधाम । विक्रम सम्वत २०८१ को शुभारम्भमै जसपा नेतृत्वको मधेश सरकार ढल्यो र जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बन्यो । मधेशलाई छुट्टै मुलुक निर्माण गर्ने अभियानको जगमा गठित जनमतले प्रदेश सरकारको नेतृत्व सम्हाल्दै गर्दा धेरैको आश थियो, विगतको भन्दा राम्रो गर्छ । तर, जनताको त्यो आशा जीवन्त रहन सकेन । यो अवधिमा जनमत नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन अन्तिम चरणमा पुगेको छ । दुई महिनापछि अर्को बजेट ल्याउने समय आउँदैछ ।
संघीय सरकार र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको खिचातानी हेर्दा मधेशमा जनमतकै सरकारले अर्को बजेट ल्याउने सम्भावना क्लियिर त देखिदैन । तर, अर्को बजेट पनि ल्याउने अवसर पायो भने विगतको भन्दा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभालाई सम्बोधनको क्रममा दिएको सुझावलाई आत्मसात गरी अघि बढ्ने हो भने प्रतिपक्षी दलको अनुभव र साथ लिएर वर्ष २०८२ लाई जनताको अपेक्षा अनुरुप प्रस्तुत हुन सक्ने सम्भावना छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल एमाले र दोस्रो दल कांग्रेसको साथ पाएर चौथो दलको रुपमा रहेको जनमतले सरकारको नेतृत्व पाउनु सुखद् संयोग हो । यो संयोगलाई अवसरको रुपमा लिएर काम गर्न सके जनमतले अगामी निर्वाचनसम्म दलीय साख जोगाउन अर्को अवसर पाएको छ । नभए जनमतको लागि अघिल्लो वर्षले प्रदान गरेको अवसर यो वर्षले खोस्न पनि सक्छ ।